काठमाडौँ । साउदी अरेबियामा अमेरिका र रुसी विदेशमन्त्रीहरूबीच वार्ता भइरहेको बेला युक्रेनका राष्ट्रपति भाल्दिमोर जेलेन्स्की टर्किका राष्ट्रपतिसँगको भेटमा व्यस्त थिए । उनले युक्रेनको विषयमा अमेरिका र रुस वार्तामा बसेको विषयमा असन्तुष्टि जनाइरहेका थिए ।
उनले पत्रकारहरुसँग कुरागर्दै भने- 'हामी चाहन्छौं कि सबै कुरा पारदर्शी होस् ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्, हामीलाई रूस-अमेरिका वार्तामा आमन्त्रित गरिएको थिएन । अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो । हामीले मिडियाबाट यसको बारेमा थाहा पायौं ।'
जेलेन्स्कीले भने,'संयुक्त राज्य अमेरिकासँगको रक्षा ग्यारेन्टीको मुद्दामा थप प्रगति र यो वार्तामा युक्रेनका अतिरिक्त युरोपेली संघ, टर्की र बेलायत पनि समावेश हुनुपर्छ ।' युक्रेनले कुनै पनि हालतमा रूसले कब्जा गरेको क्षेत्रलाई मान्यता नदिने बताउदै क्रिमिया आफुहरुको भयेओ दाबि गरे । जेलेन्स्कीले यस हप्ता साउदी अरेबियाको आफ्नो भ्रमण मार्च १० सम्म स्थगित गर्ने पनि बताए ।
साउदी अरेबियामा भएको रुससँगको वार्ताको बारेमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, 'यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति पुटिन बीचको फोन वार्ता पछि भएको थियो ।' उनले रूस युक्रेन युद्ध अन्त्य गर्न गम्भीर प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताए ।
उनले भने,'दुवै देशले एकअर्काको राजदूतलाई पुनर्बहाली गर्न सहमत भएका छन् । यी गतिविधिहरूलाई अगाडि बढाउन सक्रिय कूटनीतिक नियोगको आवश्यकता छ ।'
युक्रेनको अनुपस्थितिको बारेमा उनले कसैलाई पनि किनारा लगाइएको नरहेको बताए । अमेरिकाले युक्रेन र ईयू दुवैलाई थप वार्तामा संलग्न गराउनेछ । यस द्वन्द्वमा संलग्न प्रत्येक पक्षले यसलाई स्वीकार गर्नुपर्छ र यो उनीहरूलाई स्वीकार्य हुनुपर्छ ।
रुसविरुद्ध लगाइएका प्रतिबन्धहरूको बारेमा उनले द्वन्द्व अन्त्य गर्न प्रत्येक पक्षले छुट दिनुपर्ने बताए । युरोपेली संघले पनि कुनै न कुनै समयमा वार्तामा सामेल हुनुपर्नेछ किनकि उनीहरूले पनि रुसमाथि प्रतिबन्ध लगाएको उनले बताए ।
अमेरिकी विदेशमन्त्री रुबियोले मंगलबारको वार्तालाई युक्रेन युद्ध अन्त्य गर्ने कठिन र लामो यात्राको पहिलो चरणको रूपमा वर्णन गरेका थिए ।