काठमाडौँ । भारतले जारी आइसीसी च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा विहिबार भारतले बंगलादेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
बंगलादेशले दिएको २२९ रनको मध्यम लक्ष्य पछाएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि ओपनर शुभमन गिलले १२९ बलमा १०१ रन अविजित बनाएका थिए । एकदिवसीय क्रिकेटमा आठौ शतक बनाएका गिलको कुनै पनि आइसीसी प्रतियोगितामा भने पहिलो शतक हो ।
त्यस्तै भारतका कप्तान रोहित शर्मा र के एल राहुलले ४१-४१ रन बनाएका थिए भने विराट कोहलीले २२ र श्रेयस अय्यरले १५ तथा अक्सर पटेलले ८ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले तोहिद हृदोयको शतकीय पारीको सहयोगमा ४९.४ ओभरमा अल आउट हुदै २२८ रन बनाएको थियो ।
बंगलादेशका लागि हृदोयले ११८ बलमा १०० रन बनाएर आउट भएका थिए भने जाकर अलीले ६५ रन बनाएका थिए । ३५ रनमा ५ विकेट गुमाएको बंगलादेशका लागि हृदोय र जाकारले छैटौं विकेटका लागि १५४ रनको साझेदारी गरेर बंगलादेशलाई खेलमा फर्काएका थिए ।
त्यस्तै भारतीय बलर मोहमद सामीले ५ विकेट लिएका थिए भने हर्सित रानाले ३ र अक्सर पटेलले २ विकेट लिएका थिए ।
समुह ए मा रहेको भारतले यो जितपछि २ अंक हासिल गरेको छ । अब भारतले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
च्याम्पियन्स ट्रफी अन्तर्गत शुक्रबार समुह बी मा रहेका अफगानिस्तान र दक्षिण अफ्रीकाबीच खेल हुने तालिका रहेको छ ।