काठमाडौँ । एलन मस्कका छोराछोरीहरू त्यस्ता ठाउँहरूमा गएका छन्, जहाँ धेरै मानिसहरू कहिल्यै पुग्न सक्ने छैनन् । विदेशी नेताहरूसँगको भेटघाटदेखि स्पेसएक्स प्रक्षेपणको नियन्त्रण कक्षसम्म, मस्कका छोराछोरीहरू प्रविधि, व्यवसाय र अहिले राजनीतिक क्षेत्रमा आफ्ना बुबासँगै बारम्बार देखिने गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति तथा टेस्लाका मालिक मस्कलाई सरकारी दक्षता विभागको नेतृत्वमा नियुक्त गरेदेखि नै मस्कका छोराछोरीहरू देशको राजधानीमा बारम्बार देखिन थालेका छन् । पछिल्लो पटक बुधबार ओभल अफिसको रिजोल्युट डेस्कको कुनामा मस्कको ४ वर्षीय छोरा 'लिटिल एक्स' कलर भएको शर्ट र कोट लगाएको देखियो ।
त्यसपछि जब मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरिरहेका थिए, लिटिल एक्स र उनका अन्य दुई भाइबहिनीले भारतीय प्रधानमन्त्रीसँग उपहार साटासाट गरेका थिए ।
अमेरिकामा ट्रम्प प्रशासनको हिस्सा बन्नु अघि पनि, मस्क प्रायः आफ्ना बच्चाहरूसँग देखिन्थे । जस्तै टर्कीका राष्ट्रपतिसँगको भेटघाटमा, अस्विट्ज यातना शिविरमा आयोजित स्मृति सभामा, र टाइम पत्रिकाले २०२१ मा मस्कलाई वर्षको व्यक्तित्वको रूपमा नामकरण गरेको समारोहमा । अहिले मस्क किन आफ्ना बच्चाहरूलाई यति महत्त्वपूर्ण ठाउँहरूमा लैजान्छन् भन्ने चर्चा शुरु भएको छ ।
धेरै सार्वजनिक कार्यक्रमहरूमा बालबालिकालाई समावेश गर्नु भनेको राजनीतिज्ञहरूले उनीहरूलाई अलि बढी मिलनसार देखाउन र जनताको नजरमा बढी मानवीय देखाउनको लागि गरेको राजनीतिक चाल हो,' अमेरिकी विश्वविद्यालयका सार्वजनिक सञ्चारका प्राध्यापक कर्ट ब्राडक भन्छन् ।
बालबालिका किन सार्वजनिक स्थानमा हुन्छन् ?
तैपनि, ब्राडक विश्वास गर्छन्, मस्कले आफ्नो कान्छो छोरालाई ओभल अफिसमा लैजाने निर्णय असामान्य थियो । तीस मिनेट लामो प्रेस ब्रिफिङमा लिटिल एक्स बोर भएको देखिएका थिए । उनी कति बेला आफ्नो बुबाको नक्कल गर्दै गरेको देखिए भने कहिलेकाहीँ उनी भुइँमा बसिरहेका देखिएका थिए र बीचमा उनी अमेरिकी राष्ट्रपतिलाई हेर्दै मुस्कुराइरहेका देखिन्थे ।
यी सार्वजनिक कार्यक्रमहरूमा बालबालिकाहरूलाई जानाजानी समावेश गरिएको थियो । यो एउटा ध्यान भंग गर्ने कुरा हो जुन मस्क र ट्रम्प दुवैका लागि फाइदाजनक छ । अहिले यसको पछाडि कुनै रणनीति भएको विश्लेषण गरिएको छ । यस मार्फत केही कुरामा ध्यान खिच्ने र अन्य कुराबाट ध्यान हटाउने प्रयास भइरहेको छ । जोन हेबर एक रणनीतिक सञ्चार सल्लाहकार हुन् । उनले पाँचवटा राष्ट्रपति अभियानमा काम गरेका छन् र हार्वर्डमा अध्यापन गर्छन् ।
उनी भन्छन्, मस्कका बच्चाहरूको बारम्बार उपस्थिति र यसलाई भाइरल क्षण बनाउनु ट्रम्पको फाइदामा काम गरिरहेको छ । यसले ट्रम्पलाई सकेसम्म धेरै अराजकता वा हंगामा सिर्जना गर्न मद्दत गर्छ, हेबरले भने । यसले वास्तवमा उनीप्रति कम ध्यान आकर्षित गर्छ ।
मस्ककी पूर्व प्रेमिका र लिटिल एक्सकी आमा ग्रिम्सले ओभल अफिसमा आफ्नो छोराको उपस्थितिको आलोचना गरेकी छन् । उनले भनेकी छन्- 'उनी यसरी सार्वजनिक रूपमा हुनुहुँदैनथ्यो । तर मलाई खुशी छ कि उनी यस समयमा विनम्र थिए ।' २०२२ मा, ग्रिम्सले भ्यानिटी फेयरको लागि एक लेखमा लेखेकी थिइन्, 'म आफ्नो छोरालाई चर्चामा देख्न मन पराउँदैन । परिवारमा जे भइरहेको छ, मलाई लाग्छ बच्चाहरूलाई त्यसबाट टाढा राख्नुपर्छ र एक्स त्यहाँ छ । मेरो मतलब, मलाई लाग्छ, उसले मूल रूपमा उनलाई आफ्नो उत्तराधिकारीको रूपमा हेर्छ र उनलाई जताततै लैजान्छ । उसको अवस्था त्यस्तै छ ।'
मस्क र उनका छोराछोरी
राजनीतिमा आउनुभन्दा धेरै अघिदेखि नै मस्कले आफ्ना छोराछोरीलाई सँगै लैजान थालेका थिए । एक दशक अगाडि, जब उनी आफ्नो छाप छोड्दै थिए र आफ्नो विद्युतीय सवारी निर्माता टेस्लाप्रति ध्यान आकर्षित गर्न उत्सुक थिए, उनलाई धेरै कार्यक्रमहरूमा देख्नु सामान्य थियो ।
२०१५ मा, विश्लेषकहरू र पत्रकारहरूले सिलिकन भ्यालीमा टेस्लाको भव्य उद्घाटनको लागि पर्खिरहेका बेला, मस्कका पाँच बच्चाहरू कम्पनीको क्याम्पस वरिपरि एकअर्कालाई हाँस्दै, चिच्याउँदै र बोलाउँदै दौडिरहेको देख्न सकिन्थ्यो । त्यहाँ उपस्थित मानिसहरू घण्टौंसम्म पर्खन बाध्य भए, तर मस्कका बच्चाहरूको उपस्थितिले आरामदायी र खुशीको वातावरण सिर्जना गर्यो । यो कम्पनीहरूले सामान्यतया आयोजना गर्ने कडा र औपचारिक कार्यक्रमहरू भन्दा धेरै फरक थियो, जहाँ संस्थापकका छोराछोरीहरू देखिनु अनौठो मानिन्छ ।
मस्कका तीन फरक महिला पार्टनरबाट १२ सन्तान छन्। सार्वजनिक रूपमा देखिने उनका छोराछोरीहरू एक्स, एई,ए-१२ र लिटिल एक्स हुन् । मस्क आफैंले आफ्नो चार वर्षीय छोरालाई भावनात्मक सहयोग प्रदान गर्ने व्यक्तिको रूपमा वर्णन गरेका छन् । मस्कका जीवनीकार वाल्टर आइज्याकसनले 'द डायरी अफ अ सीईओ' पोडकास्टमा भनेका छन्, मस्क आफ्ना बच्चाहरूप्रति गहिरोरुपमा प्रतिबद्ध छन् । उनीहरू आफ्ना बच्चाहरू, आफ्ना प्रेमिकाहरू, आफ्ना श्रीमतीहरूको खातिर आफूले सक्ने सबै गर्छन् ।