काठमाडौँ । युक्रेन युद्ध समाधान गर्न मंगलबार साउदी अरेबियामा रुस र अमेरिकाबीच उच्चस्तरीय बैठक हुने दाबि गरिएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले साउदी अरबमा अमेरिकासँग युक्रेन युद्धको विषयमा वाट हुने पुष्टि गरेका छन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ आज साउदी राजधानी रियाद प्रस्थान गर्दैछन् । यसैबीच, यो शान्ति वार्तामा युक्रेनलाई आमन्त्रित नगरिएको खबर आइरहेको छ ।
अमेरिकाको तर्फबाट विदेशमन्त्री मार्को रुबियो र युक्रेन र रुसका लागि वाशिंगटनका विशेष दूत किथ केलगले यसमा भाग लिनेछन् । यस उच्च स्तरीय भेटका लागि रुबियो रियाद पुगिसकेका छन् । रुबियोले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) माइकल वाल्ट्ज र विशेष दूत स्टिभ विटकफ पनि बैठकमा भाग लिने बताएको छ ।
मिडिया रिपोर्टका अनुसार युक्रेनलाई अहिलेसम्म वार्तामा आमन्त्रित गरिएको छैन । युरोपेली देशका नेताहरूलाई पनि यी वार्ताहरूमा भाग लिन आमन्त्रित गरिएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताउदा आफुले पुटिनसँग छिटै भेट्ने बताएका छन् ।
यसअघि ट्रम्पले फेब्रुअरी ११ मा पुटिनसँग फोनमा कुराकानी गरेका थिए । यस समयमा, दुई जना बीच युद्ध अन्त्य गर्ने बारेमा छलफल भएको बताइएको थियो । दुवैबीच लगभग डेढ घण्टा कुरा भएको दाबि गरिएको छ । वार्ताका क्रममा पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो पनि दिएका थिए ।