• २०८१ फाल्गुण ९ शुक्रबार

डेढ वर्ष अघिको 'किस' प्रकरणमा रुबियालेसलाई दोषी ठहर

kharibot

काठमाडौँ । स्पेनीस फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबियालेसलाई स्पेनकी स्टार जेनी हर्मोसोलाई 'किस; गरेको प्रकरणमा दोषी ठहर गरिएको छ ।

घटनाको डेढ वर्षपछि, स्पेनले २०२३ मा इङ्गल्याण्डमाथि महिला विश्वकप जितेको सेलिब्रेसन गर्नेक्रममा रुबियालेसले हर्मोसोलाई 'किस' गरेको घटनाको फैसला भएको हो ।

फेडेरेसनका तत्कालिन अध्यक्ष रहेका रुबियालेसलाई १० हजार युरो जरिवाना तिर्न आदेश दिएको छ । आदेशमा ४७ वर्षीया रुबियालेसलाई जबरजस्ती गरेको आरोप भने लगाइएको छैन ।

यस अघि हर्मोसोले ट्रफी प्रस्तुतीकरणको क्रममा  रुबियालेसले गरेको 'किस' प्रति आफ्नो सहमति नरहेको बयान दिएकी थिइन् । साथै उनले अदालतमा आफ्नो सबैभन्दा खुशीको दिनलाई यस घटनाले कलंकित गरेको बताएकी थिइन् । तर रुबियालेसले भने खुशीको क्षणमा हर्मोसोको सहमतिमै 'किस' गरेको बताएका थिए ।

रुबियालेसको यो दाबिलाई अदालतले खारेज गरेको छ । अदालतले रुबियालेसलाई एक वर्षको लागि हर्मोसोको २०० मिटर नजिक जान प्रतिबन्ध लगाइएको थियो, जबकि उनलाई सोही अवधिको लागि उनीसँग कुराकानी गर्न पनि अनुमति दिइएको थिएन । रुबियालेसका तीन पूर्व सहकर्मीहरू विश्वकप विजेता टोलीका प्रशिक्षक जर्ज भिल्डा, स्पेनिस फुटबल फेडेरेसनका पूर्वमार्केटिंग प्रमुख रुबेन रिवेरा र पूर्वखेल निर्देशक अल्बर्ट लुकलाई यस प्रकरणमा उनलाई समर्थन गरेको आरोपमा सफाइ दिइएको थियो ।

रुबियालेसलाई यस अघि फिफाले तीन वर्षको लागि फुटबलसँग सम्बन्धित सबै गतिविधिहरूबाट प्रतिबन्ध लगाएको थियो, जुन यो अदालतको आदेशपछि पनि निरन्तर रहने छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै