काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी रहेको छ ।
अर्थमन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ यद्यपि, अवस्था भने जोखिममुक्त रहेको बताइएको छ ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि मन्त्री पौडेल र मेयर आचार्यको शरीरमा आगो सल्किएको थियो ।
अस्पतालले मन्त्री पौडेल र मेयर आचार्यको ५ देखि ६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गरिरहेको जानकारी दिएको छ ।
दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि हेलिकप्टरबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार अहिले उनीहरुको उपचार चलिरहेको छ ।