काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीले फेब्रुअरी १८ देखि २८ तारिखसम्म बंगलादेशको ढाकामा हुने बंगलादेश विरुद्ध ५ खेलको सिरिज खेल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसंग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई सुझाउदै मिसन– २०२६ को एसियाली खेलकुदमा पदक ल्याउन यो अभ्यास खेल महत्वपूर्ण पाइला हुन सक्ने धारणा व्यक्त गरे ।
नेपाली खेलाडीमा प्रमोदकुमार श्रेष्ठ, घनश्याम रोका मगर, सुशिल चुनारा, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिशकुमार कुर्मी, सुरज बोहरा, सोहेल इस्लाम, सविन बोहाजु, रामु टमाटा, गणेश पार्की र भुवन बोहरा रहेका छन् ।
त्यस्तै प्रशिक्षक लोकबहादुर विष्ट, व्यवस्थापक खेमराज चम्लागाईं तथा अफिसियल निराजन श्रेष्ठ र नवराज श्रेष्ठ रहेका छन् ।