बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकारको मंगलबार बसेको बैठकले मंगलबार रातिदेखि अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फागुन ६ गते मंगलबार राति १२ बजेपछि प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको सूचना प्रदेशसभामा पठाएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिएका छन् । पाँचौं अधिवेशन पुस १६ देखि सुरु भएको थियो । अधिवेशनले दुई विधेयक पारित गरेको छ ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार ११ वटा बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरेको छ । अधिवेशनको सोमबारको ११ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।