• २०८१ माघ १८ शुक्रबार

वेस्ट इन्डिजले ३४ बर्षपछि पाकिस्तानमा जित्यो टेस्ट खेल

kharibot

काठमाडौँ । बायाँ हाते स्पिनर जोमेल वारिकनले पाँच विकेट र केभिन सिन्क्लेयरले तीन विकेट लिएपछि वेस्ट इन्डिजले दोस्रो टेस्टको तेस्रो दिन पाकिस्तानलाई १२० रनले पराजित गरेको छ । १९९० पछि पहिलो पटक पाकिस्तानी भूमिमा टेस्ट खेल जितेको वेस्ट इन्डिजको लागि यो ऐतिहासिक जित हो । यससँगै दुई टोलीबीचको दुई खेलको शृङ्खला १-१ को बराबरीमा टुंगिएको छ ।

मुल्तानमा खेलिएको यो खेलमा वारिकनले आफ्नो करियरमा दोस्रो पटक एकै इनिङमा पाँच विकेट लिने उपलब्धि हासिल गरे । उनले आफ्नो स्पेलमा २७ रन दिएर पाँच विकेट लिए र पाकिस्तानी ब्याट्सम्यानहरूलाई हावी हुन दिएनन् । यसरी वेस्ट इन्डिजले ३४ वर्षपछि पाकिस्तानमा टेस्ट जित्यो । यसले अन्तिम पटक नोभेम्बर १९९० मा फैसलाबादमा टेस्ट खेल जितेको थियो ।

वेस्ट इन्डिजले पहिलो इनिङमा १६३ रन बनाएको थियो भने पाकिस्तानको पहिलो इनिङ १५४ रनमा समेटिएको थियो । यसरी वेस्ट इन्डिज पहिलो इनिङमा नौ रनको अग्रता लिन सफल भयो। त्यसपछि वेस्ट इन्डिजले दोस्रो इनिङमा २४४ रन बनाएर पाकिस्तानलाई जितको लागि २५४ रनको लक्ष्य दियो । लक्ष्य पछ्याउँदै, पाकिस्तानको ब्याटिङ दोस्रो इनिङमा पूर्ण रूपमा असफल भयो । दोस्रो इनिङमा पाकिस्तान १३३ रनमा अलआउट भयो र पराजय भोग्यो ।

दोस्रो दिनको खेल सकिनुअघि पाकिस्तानले चार विकेट गुमाएर ७६ रन बनाएको थियो तर वारिकन र सिन्क्लेयरको अगाडि कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् र उनीहरूले अन्तिम छ विकेट जम्मा ५७ रनमा गुमाए । दोस्रो इनिङमा ३१ रन बनाएर पाकिस्तानका लागि बाबर आजम सर्वाधिक रन बनाउने खेलाडी बने । वेस्ट इन्डिजका लागि वारिकन र सिन्क्लेयर बाहेक गुडाकेश मोतीले दुई विकेट लिए । यसरी पाकिस्तानको दोस्रो इनिङ्समा सबै १० विकेट स्पिनरहरूले लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै