• २०८१ माघ १४ सोमबार

अनुमति बिनै संचालनमा दर्जनौं आइभीएफ सेन्टर

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । नेपालमा अहिले खुलेका इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) सेन्टरहरु सरकारको अनुमति नलिएर चलिरहेको पाइएको छ । 

स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म २२ आइभीएभ सेन्टरले अनुमति लिएका छन् भने त्यस्तै ९ वटा आइभीएफ सेन्टरले अनुमतिका लागि निवेदन दिएको र १४ आइभिएभ सेन्टरले दिएको निवेदनमाथि छानबिन गर्दै अनुगमन समेत गरिसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले खरीबोटलाई जानकारी दिएका छन् ।

तर मन्त्रालयले अनुमति नदिदै निवेदन दिएका आइभीएफ सेन्टरहरुले सेवा दिइरहेको पाइएको छ । मन्त्रालयमा निवेदन दिएको भरमा ओम अस्पताल, अल्का अस्पताल, भेनस अस्पताल जस्ता काठमाडौँका प्रतिष्ठित अस्पतालले नै आइभीएफ सेवा दिइरहेको पाइएको छ । यी बाहेक नेपाल आइभीएफ, माया आइभीएफलगायत दर्जनौं सेन्टरले सरकारको स्वीकृति बिना नै सेवा दिइरहेको पाइएको छ ।   

प्रवक्ता डा. बुढाथोकीले अनुमति नलिएर संचालन गर्न नपाइने बताउदै त्यस्ता सेन्टरलाई सरकारले कारवाही गर्ने बताए । जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा १२ मा निजी, गैरसरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था संचालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने व्यवस्था गरेको छ । 

हामीलाई प्राप्त जानकारी अनुसार मन्त्रालयमा निवेदन दिएर अनुमति पाउने प्रक्रियामै रहेका आइभिएफ सेन्टरहरुले आफ्नो सेवा दिइरहेका छन् भने सरकारले नियमित अनुगमन र कारवाही गर्न अनिच्छा देखाएको छ । आइभीएफ सेन्टरहरु एकातर्फ अनुमति नपाउदै आफूखुशी संचालनमा रहेका छन् भने अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले पनि आफूखुशी प्रक्रिया नपुर्याएर अनुमति दिएको देखिएको छ । 


यो पनि पढ्नुस्:

बेलगाम आइभीएफ सेन्टर: डाक्टरको डरलाग्दो धन्दा, मुकदर्शक सरकार


 मन्त्रालयमा निवेदन दिएको भरमा आइभीएफ सेन्टर चलाइरहेको भएपनि सरकारले कारवाही गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले कहिले काही गर्ने अनुगमनमा धेरै जसो आइभीएफमा स्त्री रोग सेवा, बहिरंग सेवा, अप्रेसन थियटर, इम्रोलोजी प्रयोगशाला जस्ता न्युनतम आधारभूत पूर्वाधार बिना संचालनमा रहेको पाइने गरको छ । त्यस्तै अनुमति लिएका अधिकांश मापदण्ड पुरा नगरेको र आवश्यक पूर्वाधार नै नभएको पाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउछन् ।

विश्वभर आइभीएफको सफलता दर बढीमा ३० प्रतिशत रहेकोमा आइभीएफ सेन्टरहरुले ७०-८० प्रतिशत सफलता दर रहेको भन्दै विज्ञापन गरिरहेको स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

अर्कोतर्फ अनुमति पाएका आइभीएफले पनि मापदण्ड पुरा गरेको देखिदैन । उदाहरणको लागि आफुलाई नम्बर एक आइभीएफ सेन्टर भनेर प्रचार गरिरहेको वात्सल्य आइभीएफले आफ्नो सेन्टर काठमाडौँको नक्सालमा राखेर ललितपुरको मेडिसिटी अस्पतालसँग सम्झौता पेश गरेर अनुमति लिएको छ । नक्सालको सेन्टरमा आफ्ना विरामीलाई कुनै आपतकालीन सेवा दिनुपरेमा मेडिसिटी अस्पताल पुर्याउन कति समय लाग्ला भन्ने सामान्य ध्यान पनि अनुमति दिदा मन्त्रालयका अधिकारीहरुले पुर्याएको देखिदैन ।

विशिष्टीकृत सेवाका रुपमा वर्गिकरण गरिएको आईभीएफ सेवालाई व्यवस्थित गर्न निर्देशिका  र प्रोटोकल बानाउन मन्त्रालय लागेको भएपनि हालको फितलो अनुगमनका कारण बेथिति बढेको छ । सरकारले आईभीएफ शुल्कबारे स्पष्ट व्यवस्था नगर्दा र मापदण्ड नतोक्दा मनपरी शुल्क असुल्ने गरेको र ठगिने सेवाग्राहीको संख्या बढिरहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै