काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले माघ २७ गतेबाट गर्ने भनेको राष्ट्रिय भेला स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघका मागहरु सम्बोधन गर्न कार्यदल गठन गर्न निर्देशन दिएपछि राष्ट्रिय भेला स्थगित गरिएको महासंघले जनाएको छ ।
प्रधानमन्त्री र महासंघ पदाधिकारीहरुबीच भएको छलफल सकारात्मक रुपमा टुङ्गिएकोले महासंघले आफ्ना पूर्व घोषित कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेको बताएको छ ।
महासंघले निर्माण उद्योगमा देखिएका विद्यमान समस्याहरूका विषयमा छलफल गरी भावी रणनीति तय गर्न २०८१ पुष २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे माग सहित आन्दोलनमा जाने महासंघले घोषणा गरेको थियो ।
आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १५ को अल्टिमेटम सहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापन पत्र पेश गरेका थिए । यस्तै, केन्द्रमा महासंघले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेताहरू, विभिन्न समितिका सभापतिहरू लगायतलाई पनि ज्ञापन पत्र बुझाएका थिए ।
महासंघले सरकारतर्फबाट करिब ५० अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको बताउँदै आएको छ । भुक्तानीबाहेक सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, निर्माण कार्य हुने सिजन मै उद्यमीहरूबाट बिना ठोस कारण नै खुलेआम कार्टेलिङ गरी सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धिले मुलुकको निर्माण उद्योग ठप्प भएको महासंघले बताएको छ ।