काठमाडौं । भारतको ओडिशा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय नेपाली छात्राको मृत्यु भएको विषयमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सह–सचिव) सदस्य रहेका छन् ।
आइतबार कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रा होस्टलमा बिटेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षिया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
ओडिसा राज्य सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'सरकारले गठन गरेको उच्चस्तरीय तथ्य खोजी समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिनेछ । समितिले विद्यार्थीमाथि गरिएको दुर्व्यबहारको समेत अध्ययन गर्ने र सो मा संलग्नलाई कारवाहीको दायरमा ल्याउने छ ।'
विज्ञप्तिमा ओडिशा सरकार विद्यार्थीको सुरक्षा, आत्मसम्मानप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।
किट विश्वविद्यालयले यसअघि मंगलबारनै दुई सुरक्षा गार्डहरूलाई बर्खास्त गरेको र अन्य तीन जनालाई निलम्बन गरेको जानकारी दिएको थियो ।
विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले आन्दोलन गरेका थिए । विद्यार्थीले आन्दोलन गरेको भन्दै विश्वविद्यालय प्रशासनले सूचना प्रकाशित गर्दै नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न निर्देशन दिएको थियो ।
सोमबार दिउँसो किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो र उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।
मंगलबार चौतर्फी दबाबपछि विश्वविद्यालय प्रशासनले घटनामा संलग्नलाई बर्खास्त निलम्बन र माफी मगाउने काम गरिरहेको छ ।