• २०८१ फाल्गुण ९ शुक्रबार

परराष्ट्रमन्त्री डा. राणा र ओडिसाका मन्त्रीबीच टेलिफोन कुराकानी

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिको विषयमा ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेकी छन् । 

कुराकानी बारे जानकारी दिदै मन्त्री राणाले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको बताएकी छन् । 

यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएको मन्त्री राणाले उल्लेख गरेकी छन् । 

साथै नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको मन्त्री सुरजले जानकारी दिएको बताएकी छन् । 

साथै कलेजमा विद्यार्थीमाथि दुर्व्यबहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी दिएको उल्लेख गर्दै मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताएको उल्लेख गरेकी छन् । 

मन्त्री राणाले यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको समेत जानकारी दिएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै