• २०८१ फाल्गुण ९ शुक्रबार

ओडिशाको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्यौं- मन्त्री डा. राणा

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओडिशाको समस्या कूटनीतिक माध्यमबाट समाधान भएको बताएकी छिन् ।

ओमानको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएकी देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै ओडिशाको समस्या कूटनीतिक माध्यमबाट समाधान भएको प्रतिक्रिया दिएकी हुन् ।

मन्त्री डा. राणाले ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताइन् ।

मन्त्री डा. राणाले भनिन्- 'उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौँ । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुबीच समन्वय गर्यौँ । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्व्यबहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।'

विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी काबराहीको माग नेपालले गरेको छ ।

यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिशा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको उनले बताएकी छन् ।

मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भने पोष्ट मार्टमपछि उनको गृहनगर भैरहवा ल्याएर गएराती नै अन्तिम संस्कार गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै