काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयमा बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत भेटिएको घटनापछि नेपाली विद्यार्थीहरूले पढाई जारी राख्न आठ बुँदे शर्त राखेका छन् ।
घटनाको छानबिनको माग गर्दा विश्वविद्यालय प्रशासनले कुटपिट र दुर्व्यहार गरेको भन्दै अब पढाइमा फर्किन आठ शर्त राखेका हुन् ।
जो यस प्रकार छन्:
१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।
२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।
३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।
४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।
५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।
६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।
७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।
८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।
लम्साल आइतबार साँझ आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । सो घटनापछि विश्वविधालयले नेपाली विद्यार्थीलाई जबर्जस्ती छात्रावासबाट निकालेको विद्यार्थीहरूले बताएका छन् । विश्वविद्यालयले शुरुमा घटनाको ढाकछोप गर्ने प्रयास गरेको घटनाक्रमले देखाएको छ । तर नेपाली विद्यार्थीहरुले गरेको विरोधका कारण अहिले भने विश्वविधालय प्रशासनले नेपाली विद्यार्थीहरुलाई क्याम्पस र छात्राबासमा फर्किन आग्रह गरेको छ । चौतर्फी दबाबपछि प्रशासनले यस्तो अपिल गरे पनि नेपाली विद्यार्थीहरु भने आश्वस्त हुन सकेका छैनन् ।
विश्वविद्यालय परिसरमा विद्यार्थीले प्रदर्शन गर्दा प्रहरीले लाठीचार्जसमेत गरेको थियो । प्रकृतिको मृत्युपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरुलाई दुई घण्टाभित्र छात्रावास खाली गर्न धम्की समेत दिएको थियो ।
विश्वविधालयले जबरजस्ती निकालिएका विधार्थीहरु अहिले पनि रेलवे स्टेसनमा अलपत्र अवस्थामा रहेको र भारत वा नेपाल सरकारले उनीहरुको सुरक्षाप्रबन्ध मा ठोस पहल नगरेको विद्यार्थीहरुले बताएका छन् ।
सरकारले आधिकारीक रुपमा बुझ्न र सहयोग गर्ने काम गरिरहेको बताएपनि यति संबेदनशील विषयमा सरकारले औपचारिक रुपमा भारतीय राजदुतलाई बोलाएर बुझ्न नसकेको भन्दै सामाजिक सञ्जाल र मिडियामा आलोचना भइरहेको छ । शिक्षा मन्त्रालयका अनुसार उक्त विश्वविद्यालयमा १५ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् ।