• २०८१ माघ १८ शुक्रबार

ह्वाइट हाउसले नयाँ मिडियालाई ढोका खोल्यो, इन्फ्लुएन्सर र कन्टेन्ट क्रियटरलाई सहभागी गराइदै

kharibot

काठमाडौँ । अमेरिकाको ह्वाइट हाउसमा राष्ट्रपतिको प्रेस ब्रिफिङमा अब सामाजिक सञ्जालका इन्फ्लुएन्सर, कन्टेन्ट क्रियटर र पोडकास्टरहरूले पनि सहभागी हुन पाउने भएका छन् । 

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उनीहरूलाई प्रेस ब्रिफिङमा सहभागी हुन अवसर दिइने जानकारी दिएकी हुन् ।

यो निर्णय नयाँ मिडिया आउटलेटहरूलाई ह्वाइट हाउसमा हुने प्रेस ब्रिफिङमा पहुँच दिने उद्देश्यले गरिएको हो । मंगलबार आफ्नो पहिलो प्रेस ब्रिफिङमा लेभिटले भनिन्- लाखौं अमेरिकीहरू, विशेष गरी युवाहरू, पोडकास्ट, ब्लग, सामाजिक सञ्जाल र अन्य स्वतन्त्र प्लेटफर्महरू मार्फत आफ्ना समाचारहरू प्राप्त गर्न परम्परागत टेलिभिजन र पत्रपत्रिकाहरूबाट टाढा भइरहेका छन् । हामी राष्ट्रपतिको सन्देश सकेसम्म धेरै मानिसहरूलाई पुर्‍याउन चाहन्छौं र २०२५ को मिडियाको लागि ह्वाइट हाउसलाई उपयुक्त बनाउन चाहन्छौं ।

ह्वाइट हाउसले स्वतन्त्र पत्रकार, पोडकास्टर, सामाजिक सञ्जाल इन्फ्लुएन्सर, कन्टेन्ट क्रियटरहरूलाई आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ । 

दर्ता गर्ने व्यक्तिहरूलाई लेभिट टोलीले जाँच गरेपछि छनोट भएका व्यक्तिहरूलाई गोप्य सेवा सुरक्षा जाँच गरिनेछ । यसपछि, उनीहरूलाई प्रेस प्रमाणपत्र दिइने बताइएको छ । प्रेस ब्रिफिङ रुममा प्रेस सचिवका कर्मचारीका लागि आरक्षित सिट अब नयाँ मिडिया सिटको रूपमा चिनिनेछ ।

प्रेस सचिव लेभिटले ट्रम्प प्रशासनले ४४० पत्रकारहरूको प्रेस पास पुनर्स्थापित गर्ने योजना बनाएको बताएकी छन् । बाइडेन प्रशासनको समयमा यी पत्रकारहरूको प्रमाणपत्र रद्द गरिएको थियो ।

सो अवसरमा लेभिटले राष्ट्रपतिको सन्देश सकेसम्म धेरै अमेरिकीहरूसम्म पुर्‍याउन मद्दत गर्न नयाँ मिडियाका लागि ह्वाइट हाउसको ढोका खेल्ने बताएकी थिइन् ।

अहिलेसम्म ह्वाइट हाउसको प्रेस ब्रिफिङमा परम्परागत मिडियालाई मात्र प्रवेश अनुमति रहदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै