काठमाडौं । जिल्ला अदालत काठमाडौँले फिल्म ‘एक्टर: टेक वान’ को रिलिजमा अल्पकालीन रोक लगाएको छ ।
बुधबारदेखि रिलिज हुन लागेको यस फिल्मको रिलिजमा माघ २२ सम्म रोक्न अदालतले अल्पकालीन आदेश दिएको हो । आदेशमा माघ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।
फिल्मको रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर गत माघ ४ गते प्रदर्शित फिल्म ‘एक्टर’का निर्माताले आइतबार रिट दायर गरेका थिए । रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका छन् ।
मल्टीप्लेक्सहरुले टिकट बिक्री गरिसकेको अवस्थामा फिल्मको रिलिज रोकिएपछि यसको असर फिल्मलाई पर्ने देखिएको छ ।
राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । यही फिल्मबाट राजबल्लभले १० वर्षपछि कमब्याक गरेका हुन् भने दिव्याको यो डेब्यु फिल्म हो ।