काठमाडौँ । नेपाली सिनेमा क्षेत्रको अल टाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ को दोस्रो भाग अर्थात् सिक्वेलको घोषणा गरिएको छ ।
काठमाडौंमा आयोजना गरिएको फिल्म सफलताको खुसीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले सिक्वेल निर्माणको घोषणा गरेका हुन् । यो फिल्मसँगै उनले यसअघि नै पोस्टरमार्फत् घोषणा भइसकेको फिल्म ‘रोल नं १’ २०८२ सालमा प्रदर्शन हुने पनि जानकारी गराए ।
सेभेज सिज सिनेमाको ब्यानरमा बन्न लागेका दुई फिल्ममध्ये ‘रोल नं १’ लाई जोन योञ्जनले निर्देशन गर्नेछन् । तर, ‘पूर्णबहादुरको सारंगी २’ को निर्देशकको बारेमा भने जानकारी गराइएन । कार्यक्रममा अनावरण गरिएको फिल्मको घोषणा पोस्टरमा निर्देशकको नाम उल्लेख थिएन । निर्मातामा विनोद पौडेलको नाम मात्र पोस्टरमा उल्लेख छ ।
त्यसो त निर्देशक मात्र नभइ कलाकारको बारेमा पनि कुनै जानकारी गराइएको थिएन । फिल्म ‘पूर्णबहादुरको सारंगी २’ मा प्रकाश सपूत र अञ्जना बराइली दोहोरिने सम्भावना रहेको बताइएको छ तर आधिकारिक जानकारी भने आएको छैन । ‘पूर्णबहादुरको सारंगी २’ लाई २०८३ सालमा रिलिज गरिनेछ ।
कार्यक्रममा विश्वव्यापी ग्रस कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरिएको थियो । जसअनुरुप फिल्मले नेपालमा ४८ करोड र विदेशमा २७ करोड हाराहारी कमाएको छ । अर्थात् विश्वभरबाट फिल्मले ७५ करोड कमाएको कार्यक्रममा जानकारी गराइयो । नेपाली फिल्मले नेपाल र विदेशमा जोडेको यो अहिलेसम्मकै उच्च अंक हो ।
कार्यक्रममा फिल्मका निर्देशक, कलाकार, प्राविधिकलाई कदर पत्र प्रदान गर्दै चेकसहितको खाम (बोनस) पनि बाँडिएको थियो । तर, बोनस रकम खुलाइएको थिएन । फिल्मका मुख्य अभिनेता विजय बरालले भने फिल्ममा ५ लाख पारिश्रमिक लिएर ५ प्रतिशत मुनाफाको हिस्सेदारीमा कम गरेका थिए ।