• २०८१ माघ १४ सोमबार

अदालत पुग्यो फिल्म 'एक्टर' को नाम विवाद

kharibot

काठमाडौँ । गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ र यही बुधबारबाट प्रदर्शन हुन लागेको ‘एक्टर : टेक वन’को नाम विवाद अदालतमा पुगेको छ ।

फिल्म रिलिजपूर्व ‘हामी नै असली एक्टर हौं’ भन्दै पत्रकार सम्मेलन गरेका निर्माताले आइतबार अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेपछि यो विवाद अब अदालत पुगेको हो ।

‘एक्टर’ को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले अदालतमा दर्ता गरेको रिटमा प्रतिलिपि अधिकार बमोजिम कारबाही गरेर क्षतिपूर्ति दिन आदेश माग गरिएको छ । उनले रिटमा बौद्धिक सम्पत्ति चोरी गरेर ‘एक्टर’ नाममा अर्को फिल्म बनाउने कार्य अनैतिक रहेको र यसबाट आफूलाई धेरै क्षति हुने अवस्था रहेको उल्लेख गरेका छन् ।

रिटमा भनिएको छ- 'विपक्षीहरुको कार्यले मेरो फिल्मको विषयमा आम दर्शकहरुका माझ भ्रमको अवस्था सिर्जना भई मेरो फिल्मले तत्काल आशातित व्यवसाय गर्न नसकेको अवस्था छ भने मैले निकट भविष्यमा विदेशमा चलचित्र प्रदर्शन गर्ने योजना बनाएकोमा विपक्षीहरुको कार्यले मलाई धेरै क्षति हुने अवस्था छ ।'

साथै, रिटमा मुद्धाको अन्तिम किनारा नलागेसम्म फिल्मको प्रदर्शन रोक्न माग गर्दै भनिएको छ, ‘विपक्षीले हाम्रो नाम र कथावस्तु चोरी गरि निर्माण गरेको ‘एक्टर’ यही माघ १६ गते देशव्यापी प्रदर्शन गर्ने मिति तय गरेका छन् । उक्त दिन सो चलचित्र प्रदर्शन गरेमा प्रस्तुत मुद्धाको औचित्य समाप्त हुने हुँदा, मुद्धाको अन्तिम किनारा नभएसम्म उक्त चलचित्रलाई कहीँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश जारी गरिपाउँ ।’

माघ ४ गतेदेखि प्रदर्शनमा आएको ‘एक्टर’ बक्स अफिसमा फ्लप बनिसकेको छ । यस फिल्ममा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, मनीषा पाण्डे लगायतको अभिनय रहेको छ ।

त्यस्तै, राजन भुसालको डेब्यु निर्देशनमा तयार भएको ‘एक्टर : टेक वन’मा प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन भण्डारीको निर्माण रहेको फिल्मको गीत र ट्रेलरबाट राम्रो हाइप बनेको छ । तर, अर्को ‘एक्टर’का निर्माताले अदालतमा रिट दर्ता गरेकाले अब फिल्मको प्रदर्शन के हुन्छ भन्नेमा अन्योलता देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै