• २०८१ माघ १७ बिहीबार

ट्रम्पको टिप्पणी- डिपसीकको आगमन अमेरिकी टेक फर्मका लागि 'वेक अप कल'

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी डिपसीकको उदयलाई अमेरिकी टेक उद्योगका लागि 'वेक अप कल' भएको टिप्पणी गरेका छन् । डिपसीक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलको उदयले वाल स्ट्रिटमा धक्का दिएपछि ट्रम्पको यस्तो टिप्पणी आएको हो ।

डिपसीकको आगमनसँगै एआई सम्बन्धि टुल बनाउने एनभिडिया जस्ता प्रमुख टेक फर्महरूको शेयरमा तीव्र गिरावट आएको छ । एनभिडियाले एकै दिन शेयर बजारमा ५ सय बिलियन डलरभन्दा बढी गुमाएको छ । यसलाई अमेरिकी टेक उद्योगमा ठुलो धक्काको रुपमा हेरिएको छ । 

ट्रम्पले चीनको एआई उद्योगमा पछिल्लो विकास अमेरिकाको लागि सकारात्मक हुनसक्ने बताए । उनले भने- 'यदि तपाईंले यो सस्तोमा गर्न सक्नुहुन्छ भने, यदि तपाईंले यो कममा गर्न सक्नुहुन्छ भने उही अन्तिम परिणाममा पुग्न सक्नुहुन्छ भने, मलाई लाग्छ, यो हाम्रो लागि राम्रो कुरा हो ।' उनले यो सफलताको बारेमा चिन्तित नभएको बताउदै अमेरिका एआई क्षेत्रमा प्रमुख खेलाडी रहि रहने समेत दाबी गरे ।

डिपसीक लन्च भएसँगै एप स्टोरमा उसको सिधा प्रदिद्वंदी च्याटजिपिटीलाई उछिनेर एक नम्बरमा पुगेको छ । डिपसीक सुरु भएको एक हप्ता पछि अमेरिकामा सबैभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एप बनेको छ ।

डिपसीक अमेरिकी एआई कम्पनीहरुको लागतको तुलनामा निकै कम लागतमा बनाइएकोले पनि यसको चर्चा विश्वभर भएको छ । मिडिया रिपोर्टमा डिपसीक केवल ६ मिलियन डलरको लागतमा बनाइएको बताइएको छ, जबकी अमेरिकी टेक कम्पनीहरुले हाल एआईका नाममा बिलियन डलर खर्च गरिरहेका छन् ।

मंगलबार, एडभान्टेस्ट, सफ्टबैंक र टोकियो इलेक्ट्रोन लगायत जापानी एआई-सम्बन्धित फर्महरूको शेयर तीव्र रूपमा घटेको छ, जसले बेन्चमार्क निक्केई २२५ लाई लगभग एक प्रतिशत तल धकेलेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै