काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यवसाय किन्न सक्ने संकेत गरेका छन् । ट्रम्पले टिकटक किन्नको लागि बोली युद्ध हेर्न चाहेको बताएका छन् ।
ट्रम्पलाई माइक्रोसफ्ट अमेरिकामा टिकटक किन्न वार्तामा छ कि छैन भन्ने प्रश्नको जवाफमा उनले माइक्रोसफ्टले टिकटकमा धेरै रुची देखाएको बताए । यसैबीच अमेरिकी एआई कम्पनी परप्लेक्सिटी एआईले टिकटकको अमेरिकी व्यवसाय किन्नको लागि नयाँ प्रस्ताव गरेको छ ।
मिडिया रिपोर्टका अनुसार, कम्पनीले अमेरिकी टिकटकको अधिकांश हिस्सेदारी ३०० अर्ब डलरमा खरिद गर्ने प्रस्ताव गरेको छ ।
ट्रम्पले टिकटक किन्न धेरै व्यक्तिहरूसँग वार्ता गरिरहेको र आगामी ३० दिनमा यसको भविष्यको बारेमा निर्णय लिने बताएका छन् ।
अमेरिकामा टिकटक प्रतिबन्धित हुने जोखिममा छ। अप्रिल २०२४ मा, राष्ट्रपति बाइडेनले टिकटकको मूल कम्पनी बाइटडान्सलाई अमेरिकामा यसको अस्तित्व जारी राख्नको लागि ९ महिना भित्र अमेरिकी खरीददारलाई एपको स्वामित्व हस्तान्तरण गर्न आवश्यक पर्ने कानूनमा हस्ताक्षर गरेका थिए । यो समयसीमा जनवरी १९ मा समाप्त भएको थियो । यसअघि जनवरी १७ मा, अमेरिकी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्दै टिकटकमाथिको प्रतिबन्धलाई समर्थन गरेको थियो । यसपछि टिकटकले जनवरी १९ मा आफ्नो सेवा बन्द गरेको थियो । यद्यपि, डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै टिकटकलाई कानुन अनुसार अमेरिकी लगानीकर्तालाई स्वामित्व हस्तान्तरण गर्न ७५ दिनको समय दिएका छन् ।