काठमाडौं । स्पेनिस फरवार्ड डानी ओल्मोलाई बार्सिलोनाले ला लिगामा दर्ता गर्ने प्रयास असफल भएको छ । ओल्मो र पाउलो भेक्टरलाई ला लिगामा दर्ता गर्न बार्सिलोनाले गरेको प्रयास ला लिगाले अस्वीकार गरेको छ ।
बार्सिलोनाले फाइनान्सियल फेयर प्लेको नियम पुरा नगरेका कारण ओल्मो र भेक्टरलाई दर्ता गर्न ला लिगाले अस्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख छ । ला लिगाले बार्सिलोनालाई जनवरी २ सम्मको समय दिएको थियो । मिडिया रिपोर्टका अनुसार बार्सिलोना अब यस प्रकरणमा अदालत जाने भएको छ ।
बार्सिलोनाले २६ वर्षीय स्पेनिस फरवार्ड ओल्मोलाई जर्मन टोली लाइपजिगबाट अगस्टमा ६० मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, बार्सिलोनाले ला लिगाको पारिश्रमिक सम्बन्धित नियम पूरा गर्न नसकेकाले उनी सिजनको पहिलो हाफका लागि मात्र लिगमा दर्ता भएका थिए ।
गत साता एक अदालतले ओल्मोलाई पुनः दर्ता गर्ने बार्सिलोनाको प्रयासलाई अस्वीकार गरेको थियो । अर्को अदालतले पनि सोही निर्णयलाई सदर गरेपछि बार्सिलोना ओल्मोलाई पुरै सिजन टिममा राख्न असफल भएको हो । ओल्मो अब बार्सिलोनाबाट खेल्न नपाउने भएका छन् । यसैवर्ष स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका ओल्मोले यो सिजन बार्सिलोनाका लागि १५ खेलमा ६ गोल गरेका छन् ।
बार्सिलोनाले कानुनी लडाई लडेपनि कानुनत अब ओल्मो फ्री-ट्रान्सफरका लागि स्वतन्त्र भएका छन् ।
ओल्मो ला लिगामा दर्ता नहुने देखेपछि केहि साता देखि इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले उनलाई भित्र्याउन विशेष चासो दिएको बताइएको छ । म्यानचेस्टर युनाइटेडले हाल खराब प्रदर्शनका कारण टिममा नयाँ खेलाडी भित्र्याउने क्रममा ओल्मोलाई विशेष प्राथमिकतामा राखेको छ ।