• २०८१ पौष २३ मंगलबार

के हो चीनमा फैलिएको एचएमपीभी भाइरस ?

kharibot

काठमाडौँ । कोभिड महामारीको भयावह चरण सुरु भएको पाँच वर्षपछि चीनमा अर्को नयाँ भाइरसको संक्रमण देखिएको छ । यो नयाँ भाइरसले विशेषगरी १४ वर्ष मुनिका बालबालिकालाई असर गरिरहेको छ ।

उत्तरी चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) नामको यो भाइरसको संक्रमण बढी देखिएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो भाइरसका कारण व्यक्तिमा रुघाखोकी र कोभिड–१९ जस्ता लक्षण देखा पर्न थालेको छ र यो तीव्र गतिमा फैलिरहेको छ ।

चीनमा फालिएको यस भाइरसका कारण नेपालसहित छिमेकी देशहरूमा चिन्ता बढाएको छ ।  चीनमा फ्लूको मौसमलाई विचार गर्दा, अवस्था सामान्य नभएको बताइएको छ । हालै सामाजिक सञ्जालमा यस्ता भिडियोहरू साझा गरिएका छन् जसमा चिनियाँ अस्पतालहरू ठूलो संख्यामा बिरामीहरूसँग संघर्ष गरिरहेको देखिन्छ । यी बिरामीहरूमा फ्लू जस्ता लक्षणहरू देखिएको उल्लेख छ ।

यसपछि चीनमा फेरि एकपटक नयाँ भाइरसले मानिसलाई चुनौती दिएको भन्दै चिन्ता बढेको छ । पाँच वर्षअघि विश्वका सयभन्दा बढी देशमा कहर मच्चाएको कोभिड भाइरस चीनको वुहानबाट शुरु भएको थियो ।

चीनको आधिकारिक समाचार वेबसाइट ग्लोबल टाइम्सका अनुसार उत्तरी चीनका क्षेत्रहरू बाहेक, एचएमपीभीका घटनाहरू बेइजिङ, दक्षिणपश्चिमी सहर चोङकिङ, दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तमा रिपोर्ट गरिएको छ।

समाचार एजेन्सी रोयटर्सले चीनको स्वास्थ्य एजेन्सीहरूले जाडोमा श्वासप्रश्वाससम्बन्धी रोगहरूको बढ्दो केसहरूलाई ध्यानमा राख्दै उनीहरूले पायलट निगरानी प्रणाली सुरु गरिरहेको उल्लेख गरेको थियो ।

यस निगरानी प्रणालीका सम्बन्धमा चीनको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथामका प्रमुख ली जेङलङले यसमार्फत अज्ञात कारणले हुने निमोनियाका घटनाहरूको निगरानी गरिने बताएका थिए ।

चीन सरकारले जारी गरेको विज्ञप्तिमा आधारित रोयटर्सले आफ्नो रिपोर्टमा डिसेम्बरको तेस्रो साता चीनमा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनेको संख्यामा तीव्र वृद्धि भएको जनाएको छ ।

यस प्रतिवेदनका अनुसार रेकर्ड गरिएका केसमध्ये राइनोभाइरस र ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) संक्रमणका घटना बढी छन् । उत्तरी प्रदेशमा सङ्क्रमणका बढी घटनाहरू रेकर्ड भएका छन् र सङ्क्रमितको सङ्ख्या १४ वर्ष मुनिका बालबालिकामा बढी छ ।

प्रतिवेदनका अनुसार यस भाइरसको स्रोतको बारेमा अहिलेसम्म कुनै जानकारी फेला परेको छैन ।

एचएमपीभी भाइरस के हो ?

साइन्स डाइरेक्टका अनुसार यो भाइरस २०० देखि ४०० वर्ष पहिले चराबाट उत्पत्ति भएको हो । तर त्यसयता यो भाइरसले बारम्बार आफुलाई परिवर्तन गरिरहेको छ र अहिले यो भाइरसले चराहरूलाई संक्रमित गर्न सक्दैन ।

अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २००१ मा मानिसमा यो पत्ता लागेको थियो अर्थात् यही वर्षमा यो भाइरसले मानिसमा संक्रमण गर्न सक्छ भन्ने पत्ता लागेको थियो ।

यो भाइरसले सबै उमेरका मानिसलाई सर्न सक्छ । जसका कारण बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने जस्ता समस्या हुने गरेको छ । तर, यदि संक्रमण बढ्यो भने, यो भाइरस ब्रोंकाइटिस वा निमोनियाको लागि जिम्मेवार हुन सक्छ ।

यो भाइरसको इन्क्युबेशन अवधि सामान्यतया तीन देखि छ दिनको हुन्छ, तर रोगको अवधि कम वा बढी हुन सक्छ । यो संक्रमण कति गम्भीर छ भन्नेमा निर्भर गर्दछ । यो भाइरस खोकी र हाछ्युँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सर्छ र संक्रमित हुन्छ । यो हात मिलाएर, अंगालो हालेर वा एकअर्कालाई छुँदा पनि फैलिन सक्छ ।

यदि खोक्दा वा हाछ्युँ गर्दा थुकको कण सतहमा खसेको छ र त्यो सतह छोएपछि त्यो हातले अनुहार, नाक, आँखा वा मुख छोयो भने त्यसले पनि भाइरस सर्न सक्छ । एमएमपीभी भाइरसबाट संक्रमित व्यक्ति वा कसैलाई रुघाखोकी लागेको छ भने त्यसबाट टाढा रहन चिकित्सकहरुले सल्लाह दिएका छन् ।

खोक्दा वा हाछ्युँ गर्दा मुखमा रुमाल वा कपडा राख्न तथा खोक्दा र हाछ्युँ गर्दा छुट्टै रुमाल प्रयोग गर्न समेत चिकित्सकले सुझाव दिएका छन् । त्यस्तै अमेरिकी सरकारको सीडीसीका अनुसार कम्तिमा २० सेकेन्डसम्म साबुन र पानीले हात धुन सल्लाह दिएको छ ।

अहिलेसम्म यो भाइरसको लागि कुनै विशेष एन्टिभाइरल औषधि तथा खोप बनेको छैन । यसका लागि सामान्यतया रुघाखोकी र ज्वरोको औषधि दिइने चिकित्सकहरू बताउँछन् । तर यो भाइरसले पहिलेदेखि नै श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरूलाई समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिन आवश्यक रहेको सुझाव दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै