काठमाडौं । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । ७९ बर्षिय सिंहको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको परिवारले जनाएको छ । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक थिए । गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिय रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष थिए ।
पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहेका बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।