काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षमा अतिरिक्त समय बिताएकोमा अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई आफ्नै खल्तीबाट भुक्तानी गर्ने वाचा गरेका छन् ।
दुई अन्तरिक्ष यात्रीहरूलाई उनीहरूको अतिरिक्त समयको लागि प्रति दिन केवल ५ अमेरिकी डलर तलब दिइएको पत्रकारले ट्रम्पलाई जानकारी गराएपछि उनले आफुलाई यस विषयमा कसैले केहि नभनेको र भुक्तानी गर्नुपर्ने भएमा व्यक्तिगत तवरले गर्ने बताएका हुन् ।
सुनिता र बुचके अन्तरिक्षामा बिताएको २८६ दिनको लागि प्रतिदिन ५ डलरका दरले अतिरिक्त भत्ता कुल १,४३० अमेरिकी डलर दिइने रिपोर्ट सार्बजनिक भएको छ ।
पत्रकारले प्रशासनले सुनिता र बुचको लागि के गर्न सक्छ ? भन्ने प्रश्नको जवाफमा ट्रम्पले जवाफ दिए- 'खैर, कसैले पनि मलाई यो कुरा कहिल्यै भनेनन् । यदि मैले गर्नु पर्यो भने, म आफ्नै खल्तीबाट यसको लागि तिर्नेछु ।' यस अवसरमा ट्रम्पले एलन मस्कको पनि प्रशंसा गरे । उनले भने, 'यदि मस्क त्यहाँ भएको भए, तिनीहरू (अन्तरिक्ष यात्रीहरू) धेरै पहिले नै फर्किसकेका हुन्थे ।' ट्रम्पले मस्कविरुद्ध अहिले चलाइएको बहिष्कार अभियान बारे भने- 'मस्क विरुद्ध षड्यन्त्र गर्नेहरूलाई समातेर मुद्दा चलाउनुपर्छ, र कुनै पनि उदारता देखाइने छैन ।'
न्यूयोर्क टाइम्सले नासाको अन्तरिक्ष सञ्चालन मिसन निर्देशनालयका प्रवक्ता जिमी रसेललाई उद्धृत गर्दै अन्तरिक्षमा रहँदा, नासाका अन्तरिक्ष यात्रीहरूले संघीय कर्मचारीको रूपमा आधिकारिक यात्रा आदेशहरू प्राप्त गर्ने उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरूले कुनै पनि ओभरटाइम, बिदा वा सप्ताहन्तको तलब पाउँदैनन् । उनीहरुको यातायात, खाना र बसोबासको खर्च कभर गरिएको छ, तर उनीहरुले दैनिक 'आकस्मिक' भत्ता पाउँछन्, जुन कामको यात्रामा अन्य संघीय कर्मचारीहरूको लागि यात्रा खर्च जस्तै हो । कुनै पनि ठाउँमा यात्रा गर्दा आकस्मिक भत्ता प्रति दिन ५ अमेरिकी डलर दिने गरिन्छ, जस अनुसार सुनिता र बुचले पनि प्रतिदिन ५ डलर भत्ता पाउने बताइएको छ ।