भक्तपुर । काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलामाथि छानबिन गर्न जाँचबुझ समिति गठन भएको छ । कलेजका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि संग्रौलामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको हो ।
पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको कलेज प्रशासनले जनाएको छ ।
गत फागुन २४ गते राति काठमाडौं स्कुल अफ लमा अध्ययरत एक छात्राले सामाजिक सञ्जालमा पोस्ट गर्दै कलेजमा विद्यार्थीहरूलाई यौन दुर्व्यवहार हुने गरेको आरोप लगाएकी थिइन् । उक्त पोस्टमा ती विद्यार्थीले कलेज प्रशासनले आफ्नो निवेदनमाथि छानबिन प्रक्रिया अगाडि नबढाएको र कुनै सुनुवाइ नभएको भन्दै तत्काल निर्देशकलाई निलम्बन गरी छानबिन अगाडि बढाउन पनि माग गरेकी थिइन् ।
कलेज प्रशासनले भने निवेदन प्राप्त गरेको केही दिनपछि नै कलेजमा परीक्षा सुरु भएकाले छानबिन केही ढिलो भएको बताएको थियो ।
यता कार्यकारी निर्देशक संग्रौलाले भने आफूविरुद्ध विद्यार्थीले लगाएको आरोप तथ्यहीन र मिथ्या सूचनामा आधारित भ्रमपूर्ण अभिव्यक्ति भएको बताएका छन् । कलेजले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले आफ्नो चरित्र हत्या गर्न परिचालित विद्यार्थीले सामाजिक सञ्जालमा यौन दुर्व्यवहार भएको आरोप लगाएको बताए ।
उनले समाजिक सञ्जालमा कसैले पोस्ट गरेकै भरमा एकपक्षीय रूपमा मिडियाहरूले समाचार लेखेर ‘मिडिया ट्रायल’ गरेको भन्दै सत्यतथ्य बुझेर मात्रै समाचार लेखिदिन आग्रह समेत गरे । पत्रकार सम्मेलनका क्रममा आफू र परिवार समेतलाई मुछेर आरोप लगाउने एक विद्यार्थीले ‘ब्ल्याकमेल’ गरेको र पाँच-पाँच लाखका दरले २० लाख रकम माग गरेको उनले आरोप लगाएका छन् । विद्यार्थीले दुर्व्यवहार भएको भन्दै दिएको निवेदनमा कोबाट दुर्व्यवहार भएको नखुलाउनुले कलेजलाई बदनाम गराउनु प्रमुख उद्देश्य भएको निर्देशक संग्रौलाको आरोप थियो ।