• २०८१ माघ १८ शुक्रबार

अखिल क्रान्तिकारीको पदाधिकारीमा जनार्दन शर्मा समुह हावी

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा उपमहासचिव जनार्दन शर्माको दबदबा कायम भएको छ । 

निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि अखिल क्रान्तिकारीको पदाधिकारीमा शर्मा पक्षको बहुमत रहेको छ । क्रान्तिकारीको ३३ जनाको पदाधिकारीमा २२ जना शर्मा पक्षका उम्मेदवारले जितेका छन् । गत शनिबार भएको २३औं राष्ट्रिय सम्मेलन अन्तर्गतको निर्वाचनको मतपरिणाम बुधबार राती घोषणा गरिएको थियो ।

सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ६८६ मत पाउँदा उनका निकठतम प्रतिस्पर्धी हेमन्त राईले ६१५ मत पाए । त्यस्तै उपदेश यादवले ३१० र सुदीन पौडेलले १९२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी परेको थियो । अध्यक्षका लागि चार जना ले मनोनयन दर्ता गरेको भएपनि मूख्यगरि सापकोटा र राईबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

सापकोटालाई माओवादी नेतृत्वको अर्थात संस्थापन पक्षले समर्थन गरेको थियो । पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माले उम्मेदवार बनाएका थिए । अध्यक्षमा पराजित भएपनि ३३ जना पदाधिकारीमध्ये २२ जना भने जनार्दनले समर्थन गरेको अर्थात राई प्यानलका निर्वाचित भएका छन् ।

अध्यक्ष हारेपनि राई समूहका रोशन थापामगरले महासचिव तथा फूलमाया रानाले कोषाध्यक्ष जितेकी छन् । दुवै उम्मेदवारले संस्थापन समूहका उम्मेदवारलाई पराजित गरेका थिए ।

त्यस्तै ९ उपाध्यक्षमा ४ जना जर्नादन समूहका निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित भएका छात्रातर्फ ममता अधिकारी, आदिवासी जनजातितर्फ सन्दीप पुन, मधेशीतर्फ अभिमन्यु यादव र खस आर्यतर्फ उमेश कँडेल जनार्दन समूहका हुन् भने मदन ढकाल, अटल आचार्य, विराज थापा, कृष्णबहादुर सुनार र दीपा जैशी अन्य समूहका हुन् । खुल्ला उपाध्यक्ष जित्ने दीपा कुनै पनि समूहमा नपरेकी नेतृ हुन् ।

त्यस्तै ९ जना उपमहासचिवमध्ये ७ जना शर्मा प्यानलका निर्वाचित भएका छन् । जसमा मधेश प्रदेशबाट गजेन्द्र यादव, बागमती प्रदेशबाट निर्मला गौतम, गण्डकी प्रदेशबाट भगवान बास्तोला, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी, सुदूरपश्चिम प्रदेशबाट रामचन्द्र भट्ट र विश्वविद्यालय प्रदेशबाट जटिल कार्की छन् । त्यस्तै कोशीबाट निर्वाचित विपिन पोखरेल र उपत्यका विशेष प्रदेशबाट निर्वाचित निरोज श्रेष्ठ संस्थापन निकटका हुन् ।

क्रान्तिकारीको निर्वाचनमा १२ जना सचिवका लागि भएको मतदानमा ६२ जनाको प्रतिस्पर्धा थियो । १२ जनाध्ये ९ जना जनार्दन समूहको भएको बताईन्छ । सचिवमा निर्वाचित वीरेन्द्र जिसी, प्रेम जैशी, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छो हाङ्ग मावो जनार्दन समूहका हुन् । त्यसबाहेक शिशिर बस्याल, आशा उपरकोटी, अर्टिष्ट मोक्तान, किरोज अह्मद निर्वाचित भएका छन् । मुस्लिमतर्फको सचिवमा निर्वाचित मिरोज जनार्दन समूहका हुन् ।

त्यसैगरी अनुशासन आयोगको अध्यक्षमा इन्दिरा रेग्मी र लेखा आयोगको प्रमुखमा सुष्मा रेग्मी निर्वाचित भएका छन् । पुरी पनि जनार्दन निकट मानिन्छन् ।

गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो । यसलाई गत पुस १३ गते मतदानमार्फत ३२ वर्षे उमेर हद लगाउने प्रस्ताव बहुमतले पास गरेपछि नेतृत्वको निर्वाचन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै