काठमाडौं । विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्न निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दल सहभागी भएको र बैठकले शुक्रबारबाट सञ्चालन हुने संसद् अधिवेशनमा सकारले गलत विधि र प्रक्रिया मार्फत ल्याएको अध्यादेशलाई अस्वीकार गर्ने निर्णय भएको जानकारी दिएका छन् । उनले विपक्षी दलहरूले संसद् बोलाउने बेला नै अध्यादेश ल्याउनु गलत मनशाय रहेको निष्कर्ष निकालेको बताए ।
उनले भने- 'सात राजनीतिक दलका नेताहरूको बैठक सम्पन्न भएको छ । यो बैठकले भोलिदेखि सुरू हुने हाम्रो संघीय संसद्का अधिवेशनहरूमा व्यवस्थित रूपमा जनताका सरोकारलाई उठाउने बारेमा एकमत भएको छ । अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानुनहरू व्यवस्थित तरिकारले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसावले पनि बेठीक छ ।'
प्रमुख सचेतक पाण्डेले सरकारको विरुद्ध आवश्यक परे सडक आन्दोलनको तयारी समेत गर्ने बताए ।