काठमाडौँ । शहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात शहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो ।
श्रद्धाञ्जली सभामा स्मृति मन्तव्य राख्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सहिदहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन नेतृत्व तहको साझा मत हुनु पर्ने बताइन् । राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक भएको उनको भनाइ थियो ।
माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । ४ सहिदका सालिकमध्ये महानगरपालिकाले २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरेको हो ।
प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको सपना स्मरण गर्दै शहिद दिवस मनाउने गरिन्छ । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेविच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो ।
त्यो बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । जेल सजाय भोगिरहेकै बेला उनीहरुलाई प्राणदण्ड दिइएको थियो ।
नागरिकका मौलिक र मानव अधिकार प्राप्तिका लागि त्यसपछि समय समयमा आन्दोलन भएका छन् । ती आन्दोलनमा धेरै व्यक्तिहरु सहिद भएका छन् ।