• २०८१ माघ १८ शुक्रबार

सरकारी कर्मचारी घटाउदै ट्रम्प, जागिर छोड्नेलाई आठ महिनाको तलब दिने प्रस्ताव

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने अभियान सुरु गरेका छन् । ट्रम्प प्रशासनले संघीय कर्मचारीहरूलाई स्वेच्छाले जागिर छोड्ने विकल्प प्रस्ताव गरेको छ । यसका लागि एक हप्ता अर्थात् फेब्रुअरी ६ सम्मको समय दिइएको छ ।

कर्मचारीहरूलाई जागिर छोड्नुको सट्टा ८ महिनाको अतिरिक्त तलब दिइने बताइएको छ । सरकारी जागिरका लागि भर्ना गर्ने विभागले भविष्यमा कर्मचारी कटौती गर्ने चेतावनी पनि दिएको छ । लाखौं कर्मचारीहरूलाई पठाइएको इमेलमा भनिएको छ, स्वेच्छाले पद छोड्नेहरूले लगभग आठ महिनाको तलब पाउनेछन्, तर उनीहरूले फेब्रुअरी ६ सम्ममा यो विकल्प रोज्नुपर्नेछ ।

अमेरिकी सरकारी तथ्याङ्क अनुसार संघीय कर्मचारीहरूको संख्या ३० लाखभन्दा बढी छ । तिनीहरू अमेरिकाको १५औं ठूलो कार्यबल हुन् । प्यू रिसर्चका अनुसार संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हुन्छ ।

समाचार एजेन्सी एपीका अनुसार भेटेरान अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मीहरू, घर वा व्यवसायको लागि ऋण प्रशोधन गर्ने अधिकारीहरू र सेनाको लागि हतियार खरिद गर्ने ठेकेदारहरू सबै सँगै बाहिर जान सक्छन् । खाद्यान्न र पानी आपूर्तिको अनुसन्धान गर्ने वैज्ञानिकहरूले पनि आफ्नो जागिर गुमाउन सक्छन् ।

विभागले पठाएको इमेलमा घरबाट काम गर्ने कर्मचारीहरूलाई कार्यालय फर्कन भनिएको छ । यी कर्मचारीहरूले हप्ताको ५ दिन कार्यालयबाट काम गर्नुपर्नेछ ।

अमेरिकी सरकारी कर्मचारी संघका अध्यक्ष एभरेट केलीले ट्रम्पको आदेशप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । केलीले यो आदेश मार्फत ट्रम्प प्रशासनप्रति वफादार नभएका कर्मचारीहरूलाई जागिर छोड्न दबाब दिएको आरोप लगाएकी छन् ।

केलीले संघीय कर्मचारीहरूलाई बर्खास्त गर्दा गम्भीर परिणाम हुने बताउदै ट्रम्प प्रशासनले श्रम विरोधी आदेश र नीतिहरू जारी गरेको आरोप लगाएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै