काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा भागदौड हुदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार केहीलाई अचेत अवस्थामा अस्पताल लगिएको छ ।
मेलामा भागदौड मच्चिएपछि निरंजनी अखाडाले स्नान जात्रा रोकेको थियो । घटनास्थलबाट बाहिर आएको भिडियो अनुसार केही महिला र बालबालिका पनि घाइते भएका छन् । हाल, स्थिति नियन्त्रणमा रहेको उत्तरप्रदेश प्रशासनले जनाएको छ । महाकुम्भ नगर प्रशासनले भक्तहरूलाई अफवाहहरूलाई बेवास्ता गर्न र संयम कायम राख्न अपील गरेको छ ।
प्रयागराजको संगम किनारमा अमृत स्नान हुनुभन्दा अघि राति करिब २ बजे भागदौड मच्चिएको बताइएको छ । भागदौडका बीचमा संगमको किनारमा धेरै भक्तजन बेहोस भएका थिए । घाइतेहरूलाई ५० भन्दा बढी एम्बुलेन्सको सहयोगमा केन्द्रीय अस्पतालमा ल्याइएको थियो ।
घटनाको प्रधानमन्त्री नरेन्द्र मोदीले नजिकबाट अनुगमन गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।