काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएको छ ।
अध्यक्ष माधवकुमार नेपालले हालै अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएका हुन्।
अपानीमा भनिएको छ- ‘सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको छ । हाम्रोसमेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपयुक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत् साझा धारणा सार्वजनिक गरेका छन् ।’
वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको भन्दै एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको बताएको छ ।
देशमा महंगी अकासिएको तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको पनि समाजवादीले बताएको छ ।
अपानीमा अध्यक्ष नेपालले एमाले र माओवादी केन्द्रले कम्युनिष्ट आन्दोलन अगाडि बढाउन नसक्ने निष्कर्ष उल्लेख गरेका छन् । अपानीमा उल्लेख गरिएको छ- ‘एमाले सैद्धान्तिक जडता र विसंगतिबाट संगठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख हुँदै गरेको अवस्थामा त्यसको नेतृत्व सरकार र सार्वजनिक जीवनमा पनि बदनाम हुँदै गएको छ । माओवादी केन्द्र० मा सैद्धान्तिक गतिरोध जस्ताको तेस्तै छ । आजकै अवस्था रहन दिनु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुन सक्छ ।'
नेपालले वर्तमान सत्ता गठबन्धन दुस्चक्रमा फसेको उल्लेख गरेका छन् । ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ । त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ । त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ ।'
त्यस्तै ओली सरकारले अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न पनि नसकेको समाजवादीको आरोप छ ।