• २०८१ पौष २६ शुक्रबार

बेलगाम आइभीएफ सेन्टर: डाक्टरको डरलाग्दो धन्दा, मुकदर्शक सरकार

kharibot

काठमाडौँ ।  इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) भनेको सन्तान उत्पादन गराउने उपचार विधि हो । यसअन्तर्गत विभिन्न उपायद्वारा पनि सन्तान भइरहेका छैनन् भने महिलाको डिम्ब र पुरुषको शुत्रकीटलाई निकाली बाहिर ल्याबमा फर्टिलाइजेसन गरेर बच्चा जन्माउने प्रक्रियालाई आइभीएफ भनिन्छ । आइभीएफ सन्तानका लागि एउटा वैकल्पिक विधि त हो । तर सबै आइभीएफ सफल हुन्छ भन्ने हुँदैन । यसमा धेरै कारणहरुले यसको सफलता निर्धारण गर्छ । महिला पुरुषको स्वास्थ्य, उमेर, जीवनशैली, अन्य रोगमा भर पर्छ । त्यसैले मैले आइभीएफ गरें अब बच्चा भइहाल्छ भन्ने होइन ।

साथै कस्तो सेन्टरमा कसरी को विशेषज्ञबाट सेवा लिइएको छ, त्यसमा यसको शुल्क निर्धारण हुन्छ । नेपालमा २ लाखदेखि ६ लाखसम्म यसको शुल्क लाग्ने गरेको पाइन्छ ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा १२ मा निजी, गैरसरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था संचालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म २२ आइभीएभ सेन्टरले अनुमति लिएको पाइएको छ । त्यस्तै ९ वटा आइभीएफ सेन्टरले अनुमतिका लागि निवेदन दिएको र १४ आइभिएभ सेन्टरले दिएको निवेदनमाथि छानबिन गर्दै अनुगमन समेत गरिसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले खरीबोटलाई जानकारी दिएका छन् ।

यी बाहेक दर्ताको निवेदन नदिएर संचालन रहेका आइभिएफ सेन्टरहरु पनि संचालनमा रहेको पाइएको छ । प्रवक्ता डा. बुढाथोकीले अनुमति नलिएर संचालन गर्न नपाइने बताउदै त्यस्ता सेन्टरलाई सरकारले कारवाही गर्ने बताए । अहिले २२ वटा सेन्टरले मात्र आइभीएफ सेवा संचालनको अनुमति पाएपनि निवेदन दिएका सेन्टरहरुले पनि सेवा संचालन गरिरहेको पाइएको छ ।   

मन्त्रालयमा निवेदन दिएको भरमा आइभीएफ सेन्टर चलाइरहेको भएपनि सरकारले कारवाही गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले कहिले काही गर्ने अनुगमनमा धेरै जसो आइभीएफमा स्त्री रोग सेवा, बहिरंग सेवा, अप्रेसन थियटर, इम्रोलोजी प्रयोगशाला जस्ता न्युनतम आधारभूत पूर्वाधार संचालनमा रहेको पाइएको थियो । त्यस्तै अनुमति लिएका अधिकांश मापदण्ड पुरा नगरेको र आवश्यक पूर्वाधार नै नभएको पाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउछन् । विश्वभर आइभीएफको सफलता दर बढीमा ३० प्रतिशत रहेकोमा आइभीएफ सेन्टरहरुले ७०-८० प्रतिशत सफलता दर रहेको भन्दै विज्ञापन गरिरहेका छन् ।

यस बाहेक नेपालमा हाल संचालनमा रहेका करिब एक दर्जन आइभिएफ सेन्टरमा नि: शन्तान सम्बन्धि उपचारमा अवैद्य एवं डरलाग्दो अभ्यास भइरहेको पाइएको छ । नि: शन्तान दम्पतीलाई सेवा दिने भनि खोलिएका यस्ता सेन्टरमा महिलाको डिम्ब चोर्ने र त्यसबाट ठुलो संख्यामा भ्रुणको विकास गरि एउटै प्रकारको जेनेटिक भ्रुणलाई बिना कुनै सहमति अन्य नि: शन्तान दम्पतीमा प्रयोग भइरहेको प्रमाण आइभिएफ सेन्टरहरुको अध्ययनको क्रममा खुलेको छ । नेपालमा हाल संचालनमा रहेका केही ठुला सेन्टरमा मोटो रकम लिएर यस्तो गैरकानुनी अभ्यास भइरहेको फेला परेको छ ।

अध्ययनका क्रममा केही ठुला आइभिएफ सेन्टरले डोनर आइभिएफका नाममा एउटै महिलाबाट संकलन गरिएको डिम्बबाट बिकास गरिएको भू्णलाई थुप्रै नि: शन्तान महिलाको पाठेघरमा हाल्ने गरेको पाइएको छ साथै आइभिएफका नाममा डाक्टरहरुले डरलाग्दो धन्दा गरिरहेको समेत खुलेको छ ।  नेपालमा खास गरि नि: शन्तान सम्बन्धी समस्या लिएर आउने दम्पत्तिहरु मध्ये ९० प्रतिशत महिलामा डिम्बको कमीले प्रजनन क्षमता कमजोर भएको यर्थातलाई बुझेर अधिकांस आइभिएफ सेन्टरले शरीरमा भएजति सवै डिम्ब निकाल्ने डरलाग्दो धन्दा गरिरहेका छन् । हर्मोनसम्बन्धी औषधीको प्रयोग गरि भविष्यको प्रजनन क्षमता समेत रित्तो हुने गरि शरीरमा भएका सवै डिम्ब निकालेर आइभिएफ सेन्टरले फ्रिज गर्ने गरेका समेत पाइएको छ । उक्त डिम्बलाई पुरुषको शुक्रकिटसँग मिलाएर धेरै संख्यामा भ्रुण बनाउने र त्यसलाई फ्रिज गरेर अन्य नि: शन्तान महिलालाई डोनर आइभिएफका नाममा मोटो रकम लिएर दिने गरिएको  छ ।

नेपालमा आइभीएफ सम्बन्धि अलग कानुन नभएका कारण अहिले आइभीएफको अनुगमन गर्न सरकारले चासो नदिएको जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले नेपालमा आइभीएफका सेन्टरहरु बढिरहेकाले तत्काल कानुन बनाएर यस क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताउछन् । प्रवक्ता बुढाथोकीले सरकारले स्वास्थ्य क्षेत्रका विशिष्टीकृत सेवाको बारेमा अलग अलग कानुनी व्यवस्था गरेर व्यवस्थित गर्ने गरि छलफल गरिरहेको र छिट्टै कानुन बनाउने बताए । अहिले आइभीएफकै लागि अलग्गै कानुन नभएपनि जनस्वास्थ्य सेवा नियमावलीकै व्यवस्थाले यस क्षेत्रलाई हेरिरहेको उनले बताए । 

खरीबोटले नेपालमा आइभीएफ सेन्टरहरुको संचालनका विषयमा पछिल्ला केहि महिनादेखि अध्ययन गरिरहेको र यस विषयमा प्राप्त प्रमाणहरुसहित आगामी दिनमा क्रमश: रिपोर्ट प्रकाशित गर्ने जानकारी दिन चाहन्छौं । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै