काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चा सक्रिय बनाउने सहमति भएको छ । विगत ६ महिनादेखि समाजवादी मोर्चा निष्कृय रहेका बेला दुवै दलका नेताहरुले छलफल गर्दै समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएको हो ।
बिहीबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूबीच मोर्चालाई सक्रिय बनाउने विषयमा छफल भएको छ ।
बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले समाजवादी मोर्चाका गतिविधि बढाउने सहमति भएको जानकारी दिदै मोर्चाका संयोजक नेत्रविक्रम चन्दसँग सल्लाह गरेर बैठक बोलाउने बताए ।
बैठकमा प्रचण्डले आफ्नो दलको केन्द्रीय समिति बैठकले एकताबद्ध भएर एकवर्षे अभियान चलाउने निर्णय गरेको जानकारी गराएका थिए । उनले समाजवादी क्रान्तिको आधार तयार गर्न बैठक महत्त्वपूर्ण रहेको पनि बताएका थिए ।
समाजवादी मोर्चामा यस अघि माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र जसपा नेपाल रहेका थिए । अब समाजवादी विचार भएका अन्य दललाई पनि मोर्चामा समेट्ने तयारी गरिरहेको नेताहरुले बताएका छन् ।