• २०८१ पौष २४ बुधबार

गेटाको अनुगमन गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने- असारदेखि एमबीबीएसको पढाइ सुरू हुनसक्छ

kharibot

धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटा मेडिकल कलेजको अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा तीन सय शैयाको अस्पताल चलाएर आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका छन् । धनगढी पुगेका मन्त्री पौडेलले मंगलबार बिहानै गेटा अस्पतालको निरीक्षणका क्रममा गेटामा असारदेखि एमबीबीएसको अध्ययन शुरु हुनसक्ने बताएका हुन् । 

उनले भने- ‘पछिल्लो समय सिंहदरबार पछि ठूलो लगानीमा गेटामा पूर्वाधार निर्माण भएका छन् । ७ अर्बका पूर्वाधार बनेपनि ती खाली छन् । त्यसैले चालु आर्थिक वर्षमा तीनसय शैयाको अस्पताल बनाएर आउँदो आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिन्छ ।'

चिकित्सा शिक्षाको अध्ययनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान छ तर उनले मुलुकका ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्ययन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म पनि चिकित्सा शिक्षाको पढाइ सुरू नभएकाले त्यसका लागि विशेष निर्णय गरेर भएपनि एमबीबीएसको पढाइ गर्न सकिने बताए ।

उनले भने- ‘सुदूरपश्चिममा एमबीबीएसको पढाइ सुरु भएको छैन । ६ प्रदेशमा भइसक्यो, चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै तीन सय शैयाको अस्पताल बन्ने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्नसक्छ । मेरो प्रयास त्यसतर्फ रहेको छ ।'

उनले यस्तो निर्णयले सुदूरपश्चिमलाई पनि न्याय हुने र सरकारलाई पनि सबै प्रदेशमा एमबीबीएसको पढाइ भयो भनेर भन्न सकिने अवस्था आउने बताए । आफू मन्त्री हुनेवित्तिकै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर नै गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको पनि उनले स्मरण गराए ।

शिक्षाले अस्पतालका लागि मात्रै केही भवनहरूको भोगाधिकार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ । अहिले गेटामा सय शैया घोषणा भएपनि ५० शैयाको अस्पताल सञ्चालनमा रहे पनि न्यून विरामी आउने गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै