• २०८१ पौष २२ सोमबार

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला आयो- प्रचण्ड

kharibot

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले भने- ‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरुको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरुले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ । अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।’ 

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उहाँले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन संभव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताए ।

संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । उनले भने-  ‘राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पुँजीको निर्णायक भूमिका रहन्छ । राष्ट्रिय पुँजी परिचालनमार्फत आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न साना तथा मझौला उद्योग व्यवसायीको महत्वपूर्ण भूमिका रहन्छ । देशभरिका हजारौं व्यवसायीको नेतृत्व गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघ जस्ता संस्थाहरुले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न प्रभावकारी पहल लिनुपर्ने बेला आएको छ । अब आर्थिक, राजनीतिक लगायत सबै क्षेत्रले आर्थिक समृद्धिलाई साझा एजेण्डा बनाएर कृषि र औद्योगिक क्षेत्रलाई सुदृढ गर्दै देशलाई आत्मनिर्भरताको बाटोमा लैजानु पर्दछ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै