काठमाडौं । सरकारले उच्चशिक्षा हासिल गरेका विद्यार्थीलाई शिक्षण इन्टर्नसिपमा खटाउने तयारी गरेको छ ।
विद्यालय तहमा देखिएको विषयगत शिक्षक अभाव पूर्ति गर्ने गरी विद्यार्थीलाई शिक्षण इन्टर्नसिपमा पठाउन लागिएको हो । यसका लागि प्रधानमन्त्री कार्यालयले निर्देशिका तयार पारिरहेको छ ।
सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव हुँदा विद्यार्थीको शिक्षण सिकाई, गुणस्तर र समग्र नतिजामै प्रभाव परेको छ । विद्यालय शिक्षा सुधारका लागि शिक्षक अभाव भएका विद्यालयमा सरकारले उच्चशिक्षा हासिल गरेका विद्यार्थीलाई इन्टर्नसिपमा खटाउने तयारी गरेको हो । यसका लागि प्रधानमन्त्री कार्यालय अहिले इन्टर्नसिपसम्बन्धी निर्देशिका बनाउने काममा लागेको छ । निर्देशिका जारी गरी सबै विद्यार्थीलाई ४५ दिन देखि ३ महिनासम्म सिक्षण सिकाइमा परिचालित गर्ने सरकारको तयारी छ ।
शिक्षा मन्त्रालयको शिक्षक दरबन्दी मिलान प्रतिवेदन अनुसार देशभरका सामुदायिक विद्यालयमा अहिले पनि ५७ हजार शिक्षक अपुग छ । त्यसमध्ये माध्यामिक तहमा २५ हजार शिक्षक अभाव छ । केही वर्ष यता शिक्षक सेवा आयोगले थोरै भए पनि खुला विज्ञापन गरि शिक्षक नियुक्ति नगरेको होइन तर पनि पर्याप्त नहुँदा शिक्षक अभाव अझै छ ।
अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभावकै कारण एसईईमा धेरै विद्यार्थी फेल हुने गरेपछि सरकारले विद्यार्थीलाई इन्टर्नसिपमा पठाउन लागेको हो । यसबाट केही हदसम्म भए पनि विद्यार्थीको शिक्षण सिकाईमा टेवा पुग्ने अपेक्षा सरकारको छ ।
तर शिक्षाविज्ञहरुले भने इन्टर्नसिप दीर्घकालीन समाधान नभएको बताउदै नयाँ शिक्षक नै नियुक्तिमा सरकारले ध्यानदिनुपर्ने धारणा राखेका छन् ।