काठमाडौं । एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप लागेपछि बर्खास्तीमा परेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोख्रेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो । मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने अनिल पोखरेलले छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ३० हजार लिएका थिए । सो प्रकरण बाहिरिएपछि गत शुक्रबार उनी स्वकीय सचिवबाट बर्खास्तीमा परेका थिए ।
अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् । अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् ।