काठमाडौं । जनकपुर र पर्सामा जारी जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेशका मयन यादवले शतक बनाएका छन् ।
बागमती प्रदेशविरुद्धको दोस्रो इनिंगमा मयनले १०६ रनको शतकीय पारी खेलेका हुन् । मयनले १०८ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गर्दै १०६ रन बनाएर आउट भएका हुन् ।
यो समाचार तयार गरुन्जेल मधेश प्रदेशले दोस्रो इनिंगमा ६ विकेट गुमाएर १८९ रन बनाएको छ र बागमती प्रदेशविरुद्ध १४१ रनको अग्रता हासिल गरेको छ ।
यसअघि मधेश प्रदेशले पहिलो इनिंगमा १०२ रन बनाएको थियो भने बागमती प्रदेशले पहिलो इनिंगमा १५० रन बनाएको थियो ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट हिजोदेखि जारी छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी छन् ।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।