काठमाडौं । जनकपुर र पर्सामा जारी जय ट्रफी एलिट कप क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले नेपाल पुलिसलाई १७२ रनको लक्ष्य दिएको छ ।
पहिलो इनिंगमा चार रनले पछि परेको आर्मीले दोस्रो इनिंगमा १७८ रन बनाएसँगै पुलिसलाई १७२ रनको लक्ष्य दिएको छ ।
आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ८२ रन जोडे । १३८ बलको सामना गरेका सोमपालले १० चौका र १ छक्का हिर्काएर अविजित रहेका थिए । सोमपाल जारी एलिट कपमा अर्धशतक हिर्काउने पहिलो खेलाडी हुन् ।
सोमपाल बाहेक आर्मीका लागि तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन बनाए । बलिङतर्फ पुलिसका कुशल भूर्तेलले ४ तथा गुल्सन झाले ३ र ललित राजवंशीले २ विकेट लिए ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट हिजोदेखि जारी छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी छन् ।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।