• २०८१ माघ १८ शुक्रबार

आजबाट शुरु हुदै युरोप फुटबलको महाकुम्भ- युरोकप

kharibot

काठमाडौँ । युरोपियन फुटबलको महाकुम्भ युरोकप आउदो शुक्रबार राति अर्थात जुन १२ देखि शुरु हुदै छ । यस पटकको युरोपकप युरोपका विभिन्न ११ शहरमा आयोजना हुदै छ ।   

यस युरोकपको पहिलो खेल आज राति नेपाली समय अनुसार १२:४५ मा टर्की र इटालीबीच हुने छ ।  

हरेक चार बर्षमा हुने यो प्रतियोगिता गतबर्ष नै हुनुपर्नेमा कोरोना महामारीका कारण यस बर्ष हुदै छ ।

यस बर्ष भाग लिने २४ टिमलाई हरेक समुहमा चार-चार देशको हिसाबले ६ समुहमा विभाजन गरिएको छ । हरेक समुहका विजेता र उपविजेता टिम गरि १२ टिम तथा तेस्रो स्थानमा रहेका ६ टिमका उत्कृष्ट चार टिमसहित गरेर १६ टिम दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

दोस्रो चरणमा १६ टिम बीच नकआउटका आधारमा खेल हुने छ । प्रतियोगिताको फाइनल खेल जुलाई ११ मा लण्डनमा हुने छ ।

कसले जित्ला युरोकप ?

युरोकप फुटबल प्रतियोगितालाई मिनी विश्वकप पनि भन्ने गरिन्छ । फुटबलका हस्ती देश युरोपको यो बर्षको प्रतियोगिता कसले जित्ला भन्ने अनेक किसिमका अनुमान भइरहेका छन् ।

पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन टिम भएकाले उसको सम्भावनालाई नकार्न सक्ने अवस्था छैन । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगलको टिममा एक से एक खेलाडी रहेका छन् । म्यानचेस्टर युनाइटेडबाट खेल्ने ब्रुनो फेर्नानडेज, लिभरपुलबाट खेल्ने डिओगो जोटा, म्यानचेस्टर सिटीबाट खेल्ने बेर्नानडो सिल्भा, एटलेटिको म्याड्रिडबाट खेल्ने युवा खेलाडी जोआओ फेलिक्स जस्ता खेलाडीले पोर्चुगललाई बलियो टिमको रुपमा युरोकपको प्रमुख दाबेदारको रुपमा प्रस्तुत गरेको छ । त्यसबाहेक डिफेन्डर रुबेन डियाज, अनुभवी डिफेन्डर पेपे, जोआओ क्यान्सिलोलगायत हाइप्रोफाइल खेलाडीले पोर्चुगलको टिम यस पटक पनि बलियो टिमको रुपमा युरोकपमा रहेको छ ।

त्यस्तै युरोकप जित्ने टिमको रुपमा हेरिएको अर्को टिम फ्रान्स हो । किलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान, एन्गोलो कान्टे, पाउल पोग्वा, करिम बेन्जेमा जस्ता खेलाडी भएको फ्रान्सको टिम पनि युरोकपको बलियो दाबेदार रहेको छ ।

त्यस्तै यस युरोकपमा बेल्जियमलाई पनि बलियो टिमको रुपमा हेरिएको छ । विश्वकै उत्कृष्ट प्लेमेकर केभिन डी ब्रुने, स्ट्राइकर रोमेलु लुकाकु, इडेन हजार्डसहितका उत्कृष्ट खेलाडी रहेको बेल्जियमलाई पनि युरोकपको प्रमुख दाबेदार टिमको रुपमा हेरिएको छ । बेल्जियमले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन ।

त्यस्तै अहिलेसम्म युरोकपको फाइनल नखेलेको इङल्याण्ड सधै जसो उपाधिको दाबेदार रहने गर्दछ । उत्कृष्ट खेलाडी हुदा हुदैपनि इङल्याण्डले फिफाका प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको विश्लेषण हेन गर्दछ । ह्यारी केन, मार्कस राशफोर्ड, फिल फोडेन जस्ता खेलाडी रहेको इङल्याण्डले यस बर्ष युरोकपमा राम्रो प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

त्यस्तै विश्व फुटबलमा सधै बलियो टिम मानिएको जर्मनी, स्पेन जस्ता देशको प्रदर्शनप्रति पनि धेरैको ध्यान हुने छ । त्यस्तै इटाली, नेदरल्यान्ड्स जस्ता टिमको प्रदर्शन पनि राम्रो हुनसक्ने विश्वास व्यक्त गरिएको छ ।

त्यस्तै यस युरोकपमा केहि टिमले सरप्राइज गर्न सक्ने अनुमान गरिएको छ । सरप्राइज गर्न सक्ने टिमको रुपमा यस पटक टर्कीलाई लिइएको छ । फिफा वरियतामा २९औ स्थानमा रहेको टर्की समुह ए मा इटाली, स्वीटजरल्याण्ड र वेल्ससँग रहेको छ । 

प्लेयर्स टू वाच 

यस युरोकपमा प्लेयर्स टू वाचमा क्रिस्टियानो रोनाल्डो, किलियन एम्बाप्पे, ह्यारी केन, एन्टोनी ग्रीजम्यान फिल फोडेन, जोआओ फेलिक्स, जस्ता खेलाडी अगाडी रहेका छन् भने प्लेमेकर खेलाडीहरुमा केभिन डी ब्रुने, ब्रुनो फेर्नानडेज, पाउल पोग्वा जस्ता खेलाडीको प्रदर्शनप्रति धेरैको नजर हुने छ । 

त्यस्तै युवा खेलाडीहरुमा बेल्जियमका १९ बर्षिय जेरेमी डोकु, स्विडेनका जोर्डन लार्स्सोन, चेक रिपब्लिकका १८ बर्षिय एडम हलोजेक, स्वीटजरल्याण्डका १९ बर्षिय बेसिर ओमेरागिक, नेदरल्यान्ड्सका १९ बर्षिय रियान ग्राभेनबेर्च, टर्कीका २० बर्षिय ओर्कुन कोककु, स्विडेनका २१ बर्षिय द नेक्स्ट जलाटनको उपाधि पाएका एलेक्जेन्डर इसाक, पोर्चुगलका १८ बर्षिय नुनो मेनडेज, जर्मनीका १८ बर्ह्सिय जमाल मुसियाला, स्पेनका १८ बर्षिय पेड्री  जस्ता खेलाडी यस युरोकपमा चम्किने सम्भावना रहेको छ ।        

कसले कतिपटक जितेको छ युरोकप ?

विश्वकप फुटबलपछि विश्व फुटबलमा दोस्रो ठुलो प्रतियोगिता मानिएको युरोकप अहिलेसम्म १६ पटक सम्पन्न भइसकेको छ । जसमा जर्मनी र स्पेनले ३-३ पटक जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो । त्यस्तै स्पेनले १९६४, २००८ र २०१२ मा युरोकप जितेको छ ।

त्यसैगरी फ्रान्सले १९८४ र २००० गरेर दुई पटक युरोकपको उपाधि जितेको छ ।

त्यस्तै सोभियत युनियनले १९६० मा, इटालीले १९६८ मा, चेक रिपब्लिकले १९७६ मा, नेदरल्यान्ड्सले १९८८ मा, डेनमार्कले १९९२ मा, ग्रीसले २००४ मा र पोर्चुगलले २०१६ मा युरोकपको उपाधि जितेका छन् ।

त्यस्तै युरोकपको इतिहासमा सबैभन्दा बढी पटक फाइनलमा पुग्ने टिम जर्मनी हो । तीन पटक उपाधि जितेको जर्मनी ६ पटक फाइनलमा पुगेको छ । जर्मनी १९७६, १९९२ र २००८ मा उपविजेता बनेको थियो ।

अहिलेसम्म हाइप्रोफाइल टिम मानिएको इङल्याण्डले अहिलेसम्म युरोकप जित्न सकेको छैन । इङल्याण्ड अहिलेसम्म सन १९६८ र १९९६ मा तेस्रो स्थानसम्म बनेको छ । तर अहिलेसम्म फाइनलसम्म पुग्न सकेको भने छैन ।

पुरस्कार राशी कति छ ?

युरोकपमा सहभगी हुने सबै २४ टिम हरेकले ९.२५ मिलियन युरो अर्थात करिब एक अर्ब ३१ करोड नेपाली रुपैयाँ पाउने छन् । फेडेरेसन अफ युरोपियन फुटबल एसोसियसनले युरोकपमा सहभागी हुने हरेक टिमलाई यो रकम दिने घोषणा गरेको छ ।

यसरी युइएफएले युरोकपमा सहभागी भएर विजयी हुने टिमले ३४ मिलियन डलर अर्थात करिब ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पुरस्कार राशि पाउने छ ।

युइएफएले सहभागी हुने हरेक २४ टिमलाई ९.२५ मिलियन युरो, समुह चरण खेल्ने हरेक देशलाई खेल जितेमा थप १.५ मिलियन र बराबरी खेलेमा ७ लाख ५० हजार युरो दिने भएको छ ।

त्यस्तै अन्तिम १६ मा पुग्ने हरेक टिमले २ मिलियन थप पाउने छन् । त्यस्तै क्वाटरफाइनलमा पुग्ने हरेक टिमले ३.२५ मिलियन युरो पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने चार टिमले थप ५ मिलियन युरो पाउने छन् । त्यस्तै उपाधि जित्ने टिमले १० मिलियन युरो र उपविजेताले ७ मिलियन युरो पाउने युइएफएले घोषणा गरको छ ।

यसरी उपाधि जित्ने टिमले कुल ३४ मिलियन अर्थात ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पुरस्कार राशि पाउने छ ।  

त्यस्तै युइएफएले चार बर्षको साइकलमा कुल ७७५ मिलियन युरो अर्थात करिब एक खर्ब ९ अर्ब रकम पुरस्कारमा खर्च गर्दै छ । भने यस युरोकपमा ३७१ मिलियन खर्च गर्दै छ ।    

(यस समाचारमा पुरस्कार रकममा यस अघि अन्यथा भएकोले सच्याइएको छ- सम्पादक)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै