काठमाडौँ । काठमाडौँ महानगरमा विपन्न, असाहयले स्वास्थ्य उपचार सेवा नि: शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एकबाट सेवा लिन सकिने महानगरले जनाएको छ । जसमा एक विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा शिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सकिन्छ । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरुले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले शिफारिस गर्नेछ ।
सेवा लिनेले साइटमा कसरी सेवा लिने
वेभ बारमा गएर freehealth.kathmandu.gov.np एड्रेसमा टाइप गरेपछि प्रणाली खुल्छ । यसमा सेवाग्राहीले सेवा लिने प्रक्रिया तथा कागजात सम्बन्धी विवरण पढ्न सक्छन् । कुन अस्पतालमा कुन सेवा छ । त्यसमा उपचारका लागि शय्या खाली छ कि छैन । साइटबाटै हेर्न सकिन्छ ।
साइटबाट ७ प्रकारका डकुमेन्ट डाउनलोड गर्न सकिन्छ । निःशुल्क उपचार सम्बन्धी महानगरपालिकाको कार्यविधि, कार्यविधिबमोजिम निःशुल्क उपचार सेवा लिनेहरुले शिफारिसका लागि दिने निवेदन, वडाले निःशुल्क उपचारका लागि दिने शिफारिस, मुचुल्काका ढाँचासहित कार्यविधिका अनुसूचीहरु २, ३, ४, ५, ६ र ७ डाउनलोड गर्न सकिन्छ । अनुसूची १ र ८ प्रतिवेदन सम्बन्धी भएकोले सेवाग्राहीका लागि आवश्यक पर्दैन ।
निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भएको छ । समितिमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य छन ।
निःशुल्क स्वास्थ्य उपचार सेवा लिने विधि
१) गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने ।
२) यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।
३) वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने
४) यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ ।
५) बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने ।
बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।
२. थप जानकारी को लागि ११८० मा डायल गर्न सकिने महानगरले जनाएको छ ।