पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।
महानगरको उजुरी फर्छ्यौट शाखामा कार्यरत गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो महानगरकै कार्यालय नजिकैबाट पक्राउ परेका हुन् ।
अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजारसहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिएका छन् ।
गिरी पोखरा महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीको जवाफदेही अधिकारी हुन् । अख्तियारले सोधेका प्रष्टिकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी हो । सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी गिरीले घुस मागेका थिए ।
महानगरपालिका कार्यालयभन्दा बाहिर अख्तियारका कर्मचारीले गिरीलाई पक्रेका हुन् । गिरीले आफू निर्दोष रहेको दाबी गरेका छन् । आफूलाई फसाउन प्रपञ्च रचिएको उनले आयोगको टोलीसँग बयान दिएको बताइएको छ ।