• २०८१ चैत ५ मंगलबार

स्ववियुको निर्वाचन आज, २५ विद्यार्थी संगठन र स्वतन्त्र समूह मैदानमा

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस दाङ र धनकुटा बहुमुखी क्याम्पस गरी दुई आंगिक र सम्बन्धन प्राप्त ८५ क्याम्पसमा निर्विरोध भइसकेको छ । 

त्रिभुवन विश्वविद्यालयले ऐन, नियम, विनियम र निर्देशिकालाई आत्मसात् गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न अपिल गरेको छ ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको थालनी भएको हो भने उम्मेदवारको उमेरहद २८ वर्ष कायम गरिएको छ ।

यसअघि ५ चैत २०७९ मा ५० आंगिक र ३ सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका थिए । त्यतिबेला स्ववियु निर्वाचन हुन नसकेका रत्नराज्यलक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, पृथ्वीनारायण क्याम्पस र ठाकुराराम बहुमुखीलगायत क्याम्पस यस पटक निर्वाचन गर्ने तयारीमा छन् । 
विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा ८ चैत र पद्मकन्या बहुमुखी क्याम्पसमा ७ चैतमा मात्र निर्वाचन हुने भएको छ । १५ भन्दा बढी आंगिक क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन अझै अनिश्चित रहेको छ । तोकिएको मितिमा मतदान गर्ने व्यवस्था गर्न नसके १५ दिनभित्र क्याम्पस प्रमुख र निर्वाचन समितिले स्ववियु निर्वाचन गराउनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

स्ववियु निर्वाचनका लागि २७ फागुनमा उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै