काठमाडौँ । नेपाली अभिनेत्री निकिता चण्डकले भारतीय चर्चित निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्ने भएकी छन् ।
निकिताले आफ्नो सामाजिक सञ्जालमा निर्देशक भन्सालीसँगको तस्बिर साझा गर्दै भन्सालीको फिल्मको सानो भाग बनेको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्- 'सञ्जय लीला भन्साली सरको सिनेमा जगतको एउटा सानो हिस्सा बन्न पाउँदा अति नै कृतज्ञ र उत्साहित भएकी छु ! योभन्दा राम्रो मेरो बलिउड सुरुवात अरू हुन सक्दैनथ्यो !’
निकिताले भन्सालीको कुन फिल्ममा काम गर्न लागेकी हुन् भन्ने स्पष्ट गरेकी छैनन् ।
भन्सालीको पछिल्लो फिल्म २०२२ मा आलिया भट्टको प्रमुख भूमिका रहेको 'गंगुबाई काठियावादी' रिलिज भएको थियो भने अहिले उनले 'लभ एण्ड वार' मा काम गरिरहेका छन् । यस फिल्ममा आलिया भट्ट, रणबिर कपुर र विक्की कौशलको प्रमुख भूमिका रहेको छ । यता निकिताको भने अहिले फिल्म 'राजागंज' (पूजा सर) प्रदर्शनरत छ ।