• २०८१ फाल्गुण ११ आइतबार

ट्रम्पबाट आफूलाई कसरी जोगाउने भन्ने चिन्तामा युरोप

kharibot

काठमाडौँ । युरोपका सबैभन्दा शक्तिशाली राष्ट्रहरूका प्रमुखहरूले पेरिसस्थित राष्ट्रपति इमानुएल म्याक्रोनको आधिकारिक निवास छोडेको केही समयपछि, म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग दुई छुट्टाछुट्टै फोनमा कुराकानी गरे ।

म्याक्रोनले युक्रेन युद्धको सम्बन्धमा पेरिसमा युरोपेली देशहरूको बैठक बोलाएका थिए । यो बैठक कति सफल भयो ? के म्याक्रोन आफ्नो लक्ष्यमा सफल भए ? भन्ने विश्लेषण एकातिर भैरहेको छ भने अर्कोतर्फ युक्रेन र युरोपेली देशहरू युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्ताप्रति चिन्तित देखिएका छन् । युक्रेन र युरोपेली देशहरूको सहभागिता बिना युक्रेन युद्धको बारेमा कुनै पनि वार्ता हुन नसक्ने भन्दै युक्रेन र युरोप असन्तुष्ट रहेका छन् ।

तर पेरिसमा आयोजित युरोपेली देशहरूको यो बैठकमा सबै देशहरूको स्वर फरक पाइएको छ । अमेरिका र रुसबीचको वार्तामा धेरै बुँदाहरूमा सहमति भए पनि युरोपेली साझेदारहरूबीच धेरै मुद्दाहरूमा सहमति भने भएन । 

बैठकमा नेटो प्रमुख र युरोपेली आयोग प्रमुख बाहेक बेलायत, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन, नेदरल्याण्ड र डेनमार्कका नेताहरूले भाग लिएका थिए । बैठकको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ध्यानाकर्षण गर्नु थियो भने आगामी दिनमा ट्रम्पसँग कसरी डिल गर्ने भन्नेमा केन्द्रित थियो । खासगरी युक्रेन युद्धको बारेमा अमेरिकाले रुससँग गरिरहेको कुनै पनि वार्तामा युरोपले आफ्नो भूमिका खोजेको यो बैठकबाट बुझ्न सकिन्छ । हाल, अमेरिकाले सुरु गरेको वार्तामा किनारा लगाइएकोमा युरोपका नेताहरु असन्तुष्ट रहेका छन् । युक्रेन एक युरोपेली देश हो । यसको भविष्यले सम्पूर्ण इयुलाई असर गर्छ नै ।

युरोपका नेताहरुलाई ट्रम्प पुटिनसँग मिलेर युरोप र युक्रेनलाई किनारा गरेको आशंका गरेका छन् । त्यसैले उनीहरुले यो शान्ति वार्ता पछि पुटिन कति बलियो वा कमजोर देखिन्छन् भन्ने कुराको आकलन गर्न शुरु गरेका छन् । युरोपेली देशहरूलाई आफ्नै सर्तहरूमा सम्झौता गरेपछि पुटिनले यस क्षेत्रका अन्य देशहरूको सार्वभौमसत्तालाई पनि खतरामा पार्न सक्ने डर रहेको छ ।

आर्थिक मोर्चामा द्वन्द्व र कठिन घरेलु परिस्थितिका बाबजुद पनि यी युरोपेली देशहरूले ट्रम्पको माग अनुसार आफ्नो रक्षा खर्च बढाउन सहमत भएका छन् । पेरिसमा भएको बैठकमा युद्धविरामको अनुगमन गर्न युद्धविरामपछि युरोपेली सेना युक्रेन पठाउने सम्भावनाबारे पनि छलफल भएको थियो । केही हप्ता अघिसम्म यो असम्भव लाग्थ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि युरोपले युक्रेनमा आफ्नो सेना पठाउन चाहन्छन् । तर समग्रमा यी युरोपेली देशहरूले अमेरिकालाई कडा सन्देश पठाउन सकेनन् ।

शान्ति वार्तामा आमन्त्रित नगरिएकोमा रिसाएका यी देशहरूले ट्रम्पलाई आफ्नो रिसको वास्ता गर्ने सन्देश दिन पनि नसकेको विश्लेषण गरिएको छ । यद्यपि, केही नेताहरूले खुलेआम अमेरिकाप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा अहिले युरोपेली सेना पठाउने बारेमा कुरा गर्नु अपरिपक्व मात्र होइन, अत्यन्तै गलत भएको बताउदै आफु यस्ता बहसहरूबाट दिक्क भइसकेको बताए । उनले युक्रेन सम्बन्धी जिम्मेवारी अमेरिका र युरोपबीच समान रूपमा बाँडफाँड गरिनुपर्ने बताए ।

धेरै अन्य युरोपेली नेताहरूले ट्रम्पले अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी चीनमा ध्यान केन्द्रित गर्न सकेसम्म चाँडो युक्रेनबाट छुटकारा पाउन चाहेको बुझेका छन् । दोस्रो विश्वयुद्धदेखि नै युरोपेली देशहरू आफ्नो रक्षा आवश्यकताका लागि अमेरिकासँग धेरै हदसम्म निर्भर रहेकाछन् । तर युरोप अब भने ट्रम्पले उनीहरूबाट यो सुरक्षा कवच खोस्न सक्ने र ट्रम्पका नीतिबाट आफूलाई कसरी जोगाउने भन्ने चिन्तामा परेका छन् ।

तर बेलायती प्रधानमन्त्री केयर स्टारमरको अडान अन्य युरोपेली नेताहरू भन्दा फरक देखिएको छ । उनले बेलायतले 'अमेरिकासँगको विशेष सम्बन्धको फाइदा उठाएर' युक्रेन युद्धलाई लिएर हालको युरोपेली-अमेरिकी तनाव कम गर्न सक्ने संकेत गरेका छन् । स्टारमर साउदी अरेबियामा अमेरिका र रुसबीच भएको वार्ताबाट धेरै चिन्तित देखिएनन् । स्टारमर अर्को हप्ता अमेरिका पुगेर ट्रम्पलाई भेट्न लागेकाले पनि युरोपका अन्य नेता जस्तो उनले ट्रम्पप्रति चिन्तित देखिएका छैनन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै