काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिले धेरै प्रश्न उठेको भन्दै सरकारले छानबिन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सांसद भण्डारीले देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने भन्दै राष्ट्रिय ठगहरुलाई छुट दिन नहुने टिप्पणी गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले नेपाललाई दिएको सहयोगलाई ‘फ्रड’ भन्दै टिप्पणी गरेका थिए । ट्रम्पले पत्रकार सम्मेलनमा नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी दिदै यो 'फ्रड' भएको बताएका थिए ।
भण्डारीले यस विषयमा टिप्पणी गर्दै लेखेका छन्- 'अमेरीका का राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन !!! देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरुलाई छुट दिनु हुँदैन ! के भएको थियो ? के हुँदैछ ? सरकारले छानबिन गर्नु पर्दछ ! देश भन्दा ठुलो कोहि होईन र हुन पनि सक्दैन !!!