काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।
शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।
यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उच्चस्तरीय सत्रलाई मन्त्री डा. राणाले यही १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्ने बताइएको छ ।
मन्त्री डा. राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित छन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।