• २०८१ माघ १८ शुक्रबार

महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या २० पुग्यो

kharibot

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगमस्थलमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । भागदौडमा अन्य ५० जना बढी घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

घटना प्रयागराजको संगम किनारमा अमृत स्नान हुनुभन्दा अघि गएराति करिब २ बजे भागदौड मच्चिएको बताइएको छ ।  भागदौडका बीचमा संगमको किनारमा धेरै भक्तजन बेहोस भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने मुख्यमन्त्री योगी आदित्यनाथले जनतालाई संयमता अपनाउन अपिल गरेका छन्।

संगम नाकमा छुट्टै प्रवेश र निस्कने बाटो नभएकाले मानिसहरू जहाँबाट आएका थिए, त्यही बाटोबाट फर्किदा भागदौड भएको बताइएको छ । प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको बताएको छ । 

महाकुम्भ मेला २०२५ को मौनी अमावस्यको दिनमा प्रयागराजमा गंगा, जमुना र सरस्वती नदीको संगमस्थलमा महाकुम्भको शाही स्नान गर्न ठुलो संख्यामा मानिसहरु आएका कारण भागदौड भएको बताइएको छ । यो दिनमा चिताएको कुरा पूरा हुने धार्मिक विश्वासका कारण करोडौं मानिस स्नानका लागि आएका थिए । महाकुम्भका डीआईजी वैभव कृष्णले आज १० करोडभन्दा बढी मानिसहरू आउने अपेक्षा गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

१२ वर्षपछि मनाइदै गरेको फेब्रुअरी २६ सम्म चल्ने यस महाकुम्भ मेलामा ४५ करोडभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै