काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको मंसिरमा मात्र वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने दाबी गरेका छन् ।
आज बसेको पार्टीको संसदीय दलको बैठकमा ओलीले दिनहुँ सरकार ढल्छ भनेर हल्ला फैलाईएको तर, सरकार ०८४ सालसम्म टिक्ने दाबी गरेका हुन् ।
बैठकमा उनले भने-‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ । ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने ।’
प्रधानमन्त्री ओलीले यो महिना ढलेन भने अर्को महिनलाई सार्ने गरिएको भन्दै भनेका छन्- 'कुन मंसिरमा ? ०८४ मंसिरमा सरकार ढल्छ । के परिणाम आउँछ त्यस अनुसार सरकार ढल्छ । तर, मान्छे धेरैले अस्तिको मंसिरमा भन्ने बुझे । ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो ।’
बैठकमा ओलीले संसद्मा पूरा समय बस्न र समितिको बैठकमा दिनहुँ जान पनि सांसदहरुलाई निर्देशन दिएका छन् ।
माघ १८ गतेदेखि शुरु हुने संसद्को हिउदे अधिवेशनको तयारी स्वरूप एमालेले संसदीय दलको बैठकमा छलफल गरिरहेको छ ।